भोलीबाट सुरु हुँदैछ एसइई, मोबाइल निषेधका साथ तयारी पूरा
मधेशदूत समाचारदाता---
सर्लाही,चैत १८
सर्लाहीसहित मधेश प्रदेशमा भोली, चैत १९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ। प्रदेश सरकारले परीक्षा केन्द्रमा मोबाइल फोन र अन्य विद्युतीय उपकरण पूर्णरुपमा निषेध गर्ने निर्णय लागू गरेको छ।
प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखलाई जनकपुरमा बोलाएर सरकारले परीक्षा केन्द्रभित्र बरामद भएका मोबाइल फिर्ता नदिइने र नष्ट गरिने निर्देशन जारी गरेको हो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने, “परीक्षामा हुने अमर्यादित गतिविधि रोक्न यो कदम आवश्यक देखिएको हो ।”यो वर्षको एसइईमा प्रदेशभर ८७,५९१ जना परीक्षार्थी सहभागी हुने अनुमान गरिएको छ। सर्लाहीमा मात्र ११,३७१ विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा सञ्चालनका लागि प्रत्येक केन्द्रमा उत्तरपुस्तिका, प्रश्नपत्र, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी नियुक्त भइसकेका छन्।
सर्लाही जिल्लाभर ३५ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षार्थीहरूले परीक्षा केन्द्र नजिकै कोठा भाडामा लिएर बस्न थालेका छन्। परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाई सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा अभिमुखीकरण प्रदान गरेर खटाउने तयारी गरेको छ।
No comments:
Post a Comment