Translate

Wednesday, March 18, 2026

लालबन्दीमा महोत्सवको रौनक सुरु, १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य

 


मधेशदूत समाचारदाता---
सर्लाही, चैत ५

    “आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नारासहित तेस्रो लालबन्दी महोत्सव बुधबारदेखि भव्य रूपमा सुरु भएको छ। लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित भूदेव खाद्य उद्योग परिसरमा आयोजित महोत्सवको उद्घाटन मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले गरेका हुन्।
   उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा सुरु भएको यो महोत्सव चैत १५ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटनअघि पूर्वपश्चिम राजमार्गमा विभिन्न जातजाति तथा समुदायको पहिचान झल्काउने झाँकी, बाजागाजा र सांस्कृतिक प्रस्तुतिसहितको आकर्षक र्याली निकालिएको थियो, जसले महोत्सवको माहोल थप उत्साहित बनाएको देखिन्थ्यो।
   आयोजकका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय कला–संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा समेत यसले योगदान पुर्‍याउने विश्वास लिइएको छ।
   १२ दिनसम्म चल्ने महोत्सवमा करिब १ लाख २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश कुमार महतोले जानकारी दिए। महोत्सव सञ्चालनका लागि करिब १ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
   महोत्सवमा कृषि उत्पादनदेखि औद्योगिक तथा व्यावसायिक स्टल, अटोमोबाइल प्रदर्शनी, घरेलु तथा हस्तकला सामग्री, होटल तथा रेस्टुरेन्ट सेवा लगायत विविध आकर्षण राखिएको छ। त्यस्तै, स्थानीय पर्यटकीय स्थलको प्रचार, होमस्टे अवधारणाको प्रवर्द्धन र राष्ट्रियस्तरका कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको छ।
   महोत्सवस्थलमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ।
  स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षासहित सुरु भएको महोत्सवले लालबन्दी क्षेत्रको पहिचान थप उकास्ने विश्वास गरिएको छ।

No comments:

Post a Comment