सार्वजनिक सवारी भाडादर अनुगमनसँगै ट्राफिक सचेतना अभियान तीव्र
मधेशदूत समाचारदाता
सर्लाही, चैत ११
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक सवारी साधनमा लिइने भाडादरको अनुगमनलाई तीव्र बनाएको छ। यात्रुबाट तोकिएको भन्दा बढी भाडा असुली हुन नदिन तथा यातायात क्षेत्रमा अनुशासन कायम गर्न अनुगमन कार्य गरिएको जनाइएको छ।
यसै क्रममा मलंगवा नगरपालिका वडा नं. ८ स्थित भन्सार क्षेत्र अन्तर्गत गोरखकाली प्रहरी चौकी नजिक सडक छेउमा ट्राफिक सचेतनामूलक बोर्ड समेत राखिएको छ। उक्त बोर्डमार्फत सवारी चालक, सहचालक तथा सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न र दुर्घटना न्यूनीकरणमा सहयोग गर्न आग्रह गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख, ट्राफिक प्रहरी निरीक्षक अशोक साहका अनुसार पछिल्लो समय सवारी दुर्घटनाका घटनामा कमी ल्याउन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ। “भाडादर अनुगमनसँगै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बोर्ड राखिएको हो,” उनले बताए।
उनले सार्वजनिक सवारी साधनले तोकिएको भाडादर मात्र लिनुपर्ने र यात्रुहरूले पनि कुनै गुनासो भएमा ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरे। साथै, ट्राफिक नियमको पालना नगर्ने सवारी साधनमाथि आवश्यक कारबाही गरिने समेत उनले चेतावनी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा पनि यस्ता अनुगमन तथा सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
तर पछिल्लो समय केही अज्ञात व्यक्तिहरुले ट्राफिक प्रहरीले लगाएको सचेतना बोर्ड उखेलिदिने र च्यातिदिने गरेको पाइएकोले यस तर्फ नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीय बुद्धिजीवीले बताएका छन् ।
No comments:
Post a Comment