Translate

Wednesday, March 25, 2026

सर्लाहीमा श्रद्धापूर्वक सम्पन्न भयो चैती छठ पर्व

  



मधेशदूत समाचारदाता---
सर्लाही, चैत ११

   मधेश क्षेत्रसहित सर्लाही जिल्लामा आदिदेव भगवान सूर्यको आराधना गर्दै चार दिनसम्म मनाइने चैती छठ पर्व श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ ।आज(बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत रूपमा छठ पर्वको समापन गरिएको हो ।
      जिल्लाका विभिन्न नदी, पोखरी तथा जलाशयमा ब्रतालुहरू बिहानैदेखि उपस्थित भई पूजा सामग्रीसहित सूर्यदेवको पूजा गरेका थिए ।
छठ पर्वको अन्तिम दिनलाई ‘पारण’ पनि भनिन्छ । यस दिन अर्घ्यमा चढाइएका प्रसादहरू ग्रहण तथा वितरण गर्ने परम्परा रहेको छ । यसअघि मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो, जसलाई सझुका अरख(सझिंया घाट)भनिन्छ ।


   चार दिनसम्म कठोर नियम र निष्ठाका साथ मनाइने छठको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन निराहार उपवास बस्दै साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुने गर्दछ ।
   अर्घ्यमा ठकुवा, भुसुवा, केरा, नरिवल, उखु, मुला लगायतका सामग्री चढाउने परम्परा छ । छठ पर्व गर्दा मनोकांक्षा पूरा हुने तथा विभिन्न रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।
   सर्लाहीमा विगत केही वर्षयता चैती छठ मनाउनेहरूको संख्या बढ्दै गएको देखिएको छ । पहिले सीमित समुदायमा मात्र मनाइने यो पर्व अहिले विभिन्न जातजाति र समुदायका मानिसहरूले सामूहिक रूपमा मनाउन थालेका छन्, जसले सामाजिक सद्भाव र धार्मिक एकतालाई थप मजबुत बनाएको छ ।

No comments:

Post a Comment