गोडैता नगरपालिकामा फोहोर व्यवस्थापनको लापरबाहीप्रति स्थानीयको आक्रोश
मधेशदूत समाचारदाता---
सर्लाही,चैत १५
गोडैता नगरपालिकाभित्र फोहोर व्यवस्थापनमा देखिएको चरम लापरबाहीप्रति स्थानीयवासीले कडा असन्तुष्टि जनाएका छन्। बजार क्षेत्रका नाला तथा खोल्सामा थुप्रिएको फोहोरका कारण वातावरण प्रदूषित हुनुका साथै सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न भएको स्थानीयको गुनासो छ।
स्थानीय बासिन्दाहरूका अनुसार, महिनौंसम्म फोहोर संकलन तथा व्यवस्थापन नहुँदा क्षेत्रभर दुर्गन्ध फैलिएको छ। नालामा सडेको फोहोर, प्लास्टिकजन्य पदार्थ र ढल मिसिँदा उक्त स्थान रोगको केन्द्र बन्दै गएको उनीहरू बताउँछन्। यसका कारण विशेषगरी बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिन थालेको छ।
“नगरपालिका के हेरेर बसेको छ? जनताको स्वास्थ्य बिग्रँदा पनि कुनै चासो छैन,” एक आक्रोशित स्थानीयले गुनासो गरे।
स्थानीयवासीहरूले नगरपालिका प्रति असन्तुष्टि व्यक्त गर्दै फोहोर व्यवस्थापनमा पूर्ण असफल भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार नगरपालिकाको गैरजिम्मेवार कार्यशैलीका कारण नागरिकको जीवन जोखिममा परेको छ।
यस विषयमा नगरपालिकाले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग स्थानीयले गरेका छन्।
No comments:
Post a Comment