धनुषामा उत्कृष्ट सुरक्षा कमाण्ड: मनोज यादव बने ‘पुलिस अफ द मन्थ’
मधेशदूत समाचारदाता---
धनुषा, चैत, ४
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको “पुलिस अफ द मन्थ” घोषणा गरेको छ। उनले फागुन महिनाभर विभिन्न महत्वपूर्ण कार्यक्रममा प्रभावकारी सुरक्षा व्यवस्थापन गरी उत्कृष्ट कार्य सम्पादन गरेका कारण उक्त सम्मान प्राप्त गरेका हुन्।
प्रहरी निरीक्षक यादवले फागुन १९ गते सम्पन्न मिथिला माध्यमिकी अन्तगृह परिक्रमा मेला तथा फागुन २० गतेको होली पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार पारेका थिए। सोही योजना अनुसार प्रहरी परिचालन गरी दुबै कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन पनि यादवको भूमिका उल्लेखनीय रहेको कार्यालयले जनाएको छ। उनले निर्वाचन लक्षित सुरक्षा गतिविधि सञ्चालन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय धनुषाको निर्वाचन सेलबाट विस्तृत सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएका थिए।
निर्वाचन अवधिभर जिल्लाका विभिन्न स्थानमा भएका राजनीतिक दलका सभा, जुलुस तथा प्रचार–प्रसार कार्यक्रमलाई व्यवस्थित बनाउन उनले स्वयं कमाण्डरको रूपमा प्रहरी परिचालन गरेका थिए। साथै, मतदानस्थलहरूको सुरक्षा अवस्था अध्ययन गरी आवश्यक जनशक्ति परिचालन, मोबाइल गस्ती, चेकजाँच तथा निगरानीलाई तीव्र बनाउँदै समग्र शान्ति सुरक्षामा विशेष ध्यान दिएका थिए।
मतदानका दिन उनले मोबाइल कमाण्डरको रूपमा खटिएर मतदान केन्द्रहरूमा कडा सुरक्षा व्यवस्था मिलाएका थिए। मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित संकलन र मतगणना स्थलको सुरक्षा व्यवस्थापन गरी मतगणना कार्यलाई विवादरहित रूपमा सम्पन्न गराउन पनि उनले प्रभावकारी भूमिका खेलेका थिए।
कर्तव्यनिष्ठ, लगनशील तथा उच्च व्यवसायिक दक्षताका साथ जिम्मेवारी पूरा गर्दै सर्वसाधारण नागरिकलाई सुरक्षा अनुभूति दिलाएको योगदानको कदर गर्दै उनलाई “पुलिस अफ द मन्थ” घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए।
No comments:
Post a Comment