Translate

Monday, February 2, 2026

कानुनी सुधारको अभ्यास सुरु : सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण

  



मधेशदूत समाचारदाता---
सर्लाही,माघ २०

   नागरिकताको पहुँचमा लामो समयदेखि देखिँदै आएको कानुनी र सामाजिक अवरोधलाई तोड्दै सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण गरिएको छ। यो घटनालाई केवल एक व्यक्तिको नागरिकता प्राप्तिको विषय मात्र नभई, महिला अधिकार र राज्यको कानुनी प्रतिबद्धताको कार्यान्वयनका रूपमा हेरिएको छ।
    नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनले व्यवस्था गरेअनुसार बाबु विदेशी र आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता दिने प्रावधान कार्यान्वयनमा आएको हो। यही कानुनी व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई सोमबार अंगीकृत नागरिकता प्रदान गरेको हो।
   प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार यसअघि बाबुको नागरिकता वा पहिचान अनिवार्य रूपमा जोडिँदा धेरै नेपाली आमाका सन्तान नागरिकताविहीन बन्न बाध्य थिए। “संशोधित कानुनले आमाको नागरिकतालाई वैधानिक आधार मानेर नागरिकता दिने स्पष्ट बाटो खोलेको छ,” उहाँले भन्नुभयो।

  स्थानीय अधिकारकर्मीहरूका अनुसार यो कदमले राज्यले आमालाई पनि नागरिक पहिचानको पूर्ण आधार मानेको सन्देश दिएको छ। यसले नागरिकता नपाएर शिक्षा, रोजगारी र सेवाबाट वञ्चित हुँदै आएका धेरै व्यक्तिका लागि नयाँ आशा जगाएको उनीहरूको भनाइ छ।
   सर्लाहीमा सुरु भएको यो अभ्यासले अन्य जिल्लामा पनि आमाको नामबाट नागरिकता वितरणलाई सहज बनाउने अपेक्षा गरिएको छ। 

No comments:

Post a Comment