लालबन्दीमा छिमेकी लघुवित्त संस्थामा लुटपाट, ८७ हजार नगदसहित मोबाइल र सीसीटीभी हार्डडिस्क लुटियो
मधेशदूत समाचारदाता----
सर्लाही, माघ २३
सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारमा रहेको छिमेकी लघुवित्त वित्तीय संस्थामा बिहीबार अपराह्न लुटपाट भएको छ। बिहीबार अन्दाजी सवा ४ बजेको समयमा ४/५ जना अपरिचित व्यक्तिहरू मुखमा कालो पट्टी बाँधेर उक्त संस्थाभित्र प्रवेश गरी लुटपाट गरेका हुन्।
प्रत्यक्षदर्शी तथा प्रारम्भिक जानकारी अनुसार ती व्यक्तिहरूले संस्थामा कार्यरत कर्मचारीहरूलाई चक्कु देखाई त्रास देखाउँदै कर्मचारीसँग रहेको नगद रु. २ हजार, दुई थान मोबाइल फोन तथा संस्थाभित्र रहेको नगदसहित जम्मा रु. ८७ हजार लुटी लगेका छन्। साथै, घटनाको प्रमाण नष्ट गर्ने उद्देश्यले संस्थामा जडान गरिएको सीसीटीभीको हार्डडिस्क समेत लुटेर लगेका छन्।
लुटपाटपछि ती व्यक्तिहरूले कर्मचारीहरूलाई संस्थाभित्रै थुनेर बाहिरबाट चुकुल लगाई फरार भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा लुटिएको रु. ८५ हजार रकम संस्थाको नभई सर्लाहीको हरिवन नगरपालिका–१० निवासी छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडकी सदस्य कल्पना थापाले सोही संस्थाबाट ऋणका रूपमा निकालेको रकम भएको खुलेको छ। ऋण रकम लिएर संस्थाबाट बाहिरिने क्रममा लुटपाटमा संलग्न व्यक्तिहरूले उनलाई बाहिर जान नदिई उक्त रकम लुटेर लगेका हुन्।
हाल लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनापछि लालबन्दी बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ।
No comments:
Post a Comment