Translate

Thursday, February 26, 2026

चुनावलाई लक्षित गर्दै सीमा, सवारी र मदिरामा नियन्त्रण फागुन १८ देखि २१ सम्म नेपाल–भारत सिमानाका सिल



मधेशदूत समाचारदाता----
सर्लाही,फाल्गुन १५

   फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सर्लाहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। खुला सीमाको संवेदनशीलतालाई मध्यनजर गर्दै तीन दिनका लागि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सिल गर्ने निर्णय गरिएको छ।
    जिल्ला सुरक्षा समितिको बैठकले फाल्गुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नेपाल–भारत सीमा नाकाबाट आवतजावत पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको हो। खुला सीमाका कारण निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने आकलन गर्दै यस्तो कदम चालिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ।
    त्यसैगरी, फाल्गुन १५ गतेदेखि २२ गते राति १२ बजेसम्म विदेशी नम्बर प्लेट भएका दुईपांग्रे र चारपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। सीमावर्ती क्षेत्र भएकाले भारतीय सवारीसाधनको आवागमनलाई नियन्त्रण गरी सुरक्षा जोखिम न्यूनीकरण गर्ने उद्देश्य रहेको प्रशासनको भनाइ छ।
   यता, निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न जिल्लाभर मदिरा तथा मदिराजन्य पदार्थ बिक्री–वितरणमा पनि रोक लगाइएको छ। फाल्गुन २२ गते राति १२ बजेसम्म यो निर्णय लागू हुनेछ।
    जिल्ला प्रशासनले निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ।
खुला सीमा, मिश्रित बसोबास र उच्च राजनीतिक चासोका कारण सर्लाही यसपटक सुरक्षा संवेदनशील जिल्लाका रूपमा हेरिएको छ। प्रशासनको कडा निर्णयले निर्वाचन शान्तिपूर्ण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment