अनुभवी नेता कि नयाँ परिवर्तन? सर्लाही–२ का लागि चर्को चुनावी बहस
मनोज यादव----
सर्लाही, फाल्गुन ४
सर्लाही निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनले फेरि एक पटक पुराना र परिचित राजनीतिक अनुहारहरूलाई आमनेसामने ल्याएको छ। मधेश राजनीतिका चर्चित नेता राजेन्द्र महतो र महिन्द्र राय यादव बीचको परम्परागत प्रतिस्पर्धा यसपटक पनि दोहोरिने देखिएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि महतो राष्ट्रिय मुक्ति पार्टी नेपालबाट र यादव नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका छन्। दुबै नेता पटक–पटक सांसद र मन्त्री भइसकेका अनुभवी अनुहार हुन्। यही कारण सर्लाही–२ मा चुनावी बहस ‘अनुभवले निरन्तरता पाओस् कि नयाँ सोचलाई अवसर दिइयोस्’ भन्ने विषयमा केन्द्रित हुन थालेको छ।
यसपटकको प्रतिस्पर्धालाई थप चर्काउने काम नेपाली कांग्रेसका उम्मेदवार डा. सरोज कुमारले गरेका छन्। कांग्रेसले पुराना प्रतिनिधिबाट दिक्क भएका मतदाताले परिवर्तन खोजिरहेको दाबी गर्दै मैदानमा नयाँ ऊर्जा भर्ने प्रयास गरिरहेको छ। यस्तै, नेकपा एमालेका नागेश्वर साह, राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन महतोसहित ३१ जना उम्मेदवार चुनावी दौडमा छन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा महिन्द्र राय यादवले तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई २ हजार ११ मतको अन्तरले पराजित गरेका थिए। यादवले २३ हजार ५२९ मत प्राप्त गर्दा महतोले २१ हजार ५१८ मत ल्याएका थिए। त्यतिबेला ‘अन्तिम पटक’ भन्दै भोट मागेका यादव पुनः चुनावी मैदानमा उत्रनु आफैंमा चासोको विषय बनेको छ।
यादवले आफ्नो क्षेत्रमा सुरु भए तर अधुरा रहेका विकासका काम पूरा गर्न पुनः उम्मेदवारी दिएको बताउँदै आएका छन्। उनी २०७४ मा पनि सर्लाही–२ बाट भारी मतान्तरले विजयी भएका थिए। उता, २०७४ मै धनुषाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका राजेन्द्र महतो यसपटक सर्लाही–२ मा विकासको अभावलाई मुख्य मुद्दा बनाएर चुनावी मैदानमा छन्।
सर्लाही–२ मा सदरमुकाम मलंगवासहित भारतीय सीमासँग जोडिएका क्षेत्र पर्दछन्। यहाँ सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा गम्भीर समस्या रहेको नागरिक समाजका अगुवाहरू बताउँछन्। उनीहरूका अनुसार, सदरमुकाम नजिकैका क्षेत्रमै सडकको दुरावस्था, शिक्षाको खस्कँदो स्तर, स्वास्थ्य संस्थाको कमजोर अवस्था र मलखादको अभाव किसानका मुख्य पीडा हुन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा १ लाख २५ हजार ३११ मतदाता रहेका छन्। अनुभवी नेताहरूको पुनरागमन र नयाँ अनुहारको दाबीबीच सर्लाही–२ का मतदाताले यसपटक कस्तो निर्णय लिन्छन् भन्ने चासो बढ्दै गएको छ।
No comments:
Post a Comment