निर्वाचन प्रहरीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन
मधेशदूत समाचारदाता----
सर्लाही, फाल्गुन १
आगामी निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सर्लाही जिल्लामा तालिमरत विभिन्न इकाईका निर्वाचन प्रहरीलाई लक्षित गरी ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको आयोजनामा सञ्चालन गरिएको उक्त कक्षामा ट्राफिक नियम–कानुन, सवारी व्यवस्थापन, निर्वाचन अवधिमा सवारी आवागमनलाई सहज बनाउने उपाय तथा ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख अशोक साहसहित जिल्लाभरिका विभिन्न ट्राफिक प्रहरी युनिटका प्रहरी अधिकृत तथा जवानहरूले सहजीकरण गर्दै व्यावहारिक अनुभवसमेत साझा गरेका थिए। प्रशिक्षणका क्रममा निर्वाचनका बेला हुने सम्भावित ट्राफिक चुनौती, भीड व्यवस्थापन र आकस्मिक अवस्थाको सामना गर्ने उपायबारे समेत जानकारी गराइएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीका अनुसार निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न र सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो सचेतना कक्षा उपयोगी हुने विश्वास लिइएको छ।
No comments:
Post a Comment