सहारा पञ्चकन्याको साधारणसभामा सदस्यहरूको उत्साहपूर्ण सहभागिता सहकारीमार्फत आर्थिक सशक्तीकरणतर्फ १६ वर्षे यात्रा
मधेशदूत समाचारदाता
सर्लाही, पुस २८
स्थानीयस्तरमा बचत, लगानी र आर्थिक अनुशासनमार्फत समुदायलाई सशक्त बनाउँदै आएको सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड मलंगवाले आफ्नो १६ औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। मलंगवा नगरपालिका–१० स्थित पार्टी प्यालेसमा आइतबार सम्पन्न साधारणसभाले संस्थाको आर्थिक प्रगति र भविष्यको कार्यदिशामाथि छलफल गरेको छ।
मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगिलाल राय प्रमुख अतिथिका रूपमा उपस्थित सभामा सहकारीको भूमिकाले स्थानीय विकासमा पुर्याएको योगदानबारे चर्चा गरिएको थियो। मन्त्री रायले सहकारी संस्थाहरूले वित्तीय पहुँच विस्तार गर्दै नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
संस्थाका अध्यक्ष देवेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत प्रतिवेदन अनुसार, सदस्य र कर्मचारीको संयुक्त प्रयासले संस्थाको कारोबार सन्तोषजनक ढंगले अघि बढिरहेको छ। अध्यक्ष यादवले पारदर्शिता, अनुशासन र सदस्यको सक्रिय सहभागिता नै सहकारीको मुख्य आधार रहेको उल्लेख गरे।
कार्यक्रमको सञ्चालन राम लखन महतोले गरेका थिए। सभामा उपाध्यक्ष रामश्रेष्ठ राय, मुख्य प्रबन्धक शिवशंकर जैसवाल, भूतपूर्व मुख्य प्रबन्धक दिलिप कुमार झा, सञ्चालक समिति सदस्यहरू राजकुमार यादव,उदयनारायण राय,मिनु कुमारी, लेखा संयोजक रम्भा झा, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, मिडिया काउन्सिल मधेश प्रदेश सदस्य बन्दना झा, नेपाली काँग्रेस सर्लाहीका सचिव मनोज कुमार यादव,,संस्थाका कर्मचारी, सेयर सदस्य, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कार्यसम्पादन गर्ने फिल्ड कर्मचारी, असल श्रेणीका सदस्य तथा नियमित बचतकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। यसले कर्मचारी र सदस्यमा थप उत्साह र जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गरिएको छ।
१६ वर्षे यात्रामा निरन्तर प्रगति गर्दै आएको सहारा पञ्चकन्याले आगामी दिनमा अझ सशक्त र प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
No comments:
Post a Comment