Translate

Tuesday, December 9, 2025

सर्लाही क्षेत्र न.२ मा उम्मेदवार सिफारिस गर्न काँग्रेसको विस्तारित बैठक सम्पन्न उमेदवार सिफारिस गर्ने अधिकार क्षेत्रीय कार्यसमितिमा केन्द्रित




मधेशदूत समाचारदाता
सर्लाही, मंसिर २४

   नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर–२ ले आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियालाई औपचारिक रुपमा अघि बढाउन विस्तारित बैठक सम्पन्न गरेको छ। मंगलबार मलंगवास्थित जानकी पार्टी प्यालेसमा सम्पन्न भएको बैठकको अध्यक्षता क्षेत्रीय सभापति कौशल किशोर रायले गरेका थिए।
   केन्द्रीय कार्य समितिबाट जारी भएको नवीनतम परिपत्रअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ एक महिलासहित तीन जना, समानुपातिकतर्फ एक महिलासहित तीन जना र राष्ट्रिय सभाका लागि एक जनाको सिफारिस गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न बैठक बोलाइएको सभापति रायले जानकारी दिए। उनले पुराना क्रियाशील सदस्यहरूले शुल्क बुझाई नयाँ क्रियाशील फारम यही पुस २ गतेभित्र बुझाइसक्नुपर्ने व्यवस्था भएकाले सो सम्बन्धमा आवश्यक निर्णय लिन पनि बैठक बोलाइएको बताए।
  बैठकले प्रस्तुत उम्मेदवार सूचीमाथि छलफल गर्दै अन्तिम नाम छनोट तथा सिफारिस गर्ने सम्पूर्ण अधिकार क्षेत्रीय कार्यसमितिलाई नै प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। यससँगै अब सर्लाही क्षेत्र नम्बर–२ को सिफारिस प्रक्रिया क्षेत्रीय कार्यसमितिको नेतृत्वमा औपचारिक रूपमा अघि बढ्ने छ।
   विस्तारित बैठकमा विष्णु गाउँपालिका अध्यक्ष जवाहर राय, क्षेत्रीय सचिव राम केवल महतो, महाधिवेशन प्रतिनिधि जयहरि श्रेष्ठ, दिनेश राय, लक्ष्मण रायसहित प्रदेश तथा वडा स्तरका सभापति र क्षेत्रीय कार्यसमितिका सदस्यहरू सक्रिय रूपमा सहभागी भएका थिए।

No comments:

Post a Comment