ईश्वरपुरको वडा नम्बर २ शतप्रतिशत विद्यालय भर्ना वडा घोषित
मधेशदूत समाचारदाता---
सर्लाही,पुस ७
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर २ लाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ। वडाभित्रका ४ देखि ११ वर्ष उमेर समूहका ५५३ जना बालबालिकामध्ये सबै बालबालिका विद्यालयमा भर्ना भइसकेकाले उक्त घोषणा गरिएको हो। यससँगै उक्त वडा ईश्वरपुर न.पाको चौथो शतप्रतिशत विद्यालय भर्ना वडा बनेको छ।
वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीको अध्यक्षता तथा नगरप्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यमा आइतवार आयोजित कार्यक्रममा औपचारिक रूपमा शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको हो। कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षामा पहुँच विस्तार र बालबालिकाको भविष्य सुरक्षित गर्न वडाले गरेको प्रयास उदाहरणीय रहेको बताएका थिए।
शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले ग्रामिण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेनको सहयोगमा वडा कार्यालय र नगरपालिका कार्यालयको समन्वयमा विगत केही वर्षदेखि निरन्तर कार्यक्रम सञ्चालन हुँदै आएको थियो। वडाले हालै संकलन गरेको तथ्याङ्कअनुसार वडाभित्र बालबालिकाको विद्यालय भर्ना दर ९० प्रतिशतभन्दा माथि पुगेको वडा सचिव राम अवतार साहले जानकारी दिए ।
नगर शिक्षा शाखा प्रमुख दिनेश लुईटेलका अनुसार यस वडा भित्रका ६५० घरधुरीमा रहेका ५४२ जना बालबालिका हाल सबै विद्यालयमा अध्ययनरत छन्। यही आधारमा वडालाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको हो।
कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बाल समूह तथा बाल सञ्जाल, महिला तथा कृषि समूह, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा शतप्रतिशत विद्यालय भर्ना अभियान सफल बनाउन योगदान पुर्याउने संघसंस्था तथा व्यक्तिहरूलाई वडा कार्यालयले सम्मान गरेको थियो।
No comments:
Post a Comment