मलंगवामा लामखुट्टे नियन्त्रणका लागि लार्भा साइडींग स्प्रे अभियान सम्पन्न
मधेशदूत समाचारदाता—
सर्लाही, पुस ७
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाभित्रका सबै वडामा लामखुट्टे नियन्त्रणका लागि लार्भा साइडींग स्प्रे अभियान सम्पन्न भएको छ। डेंगी, जापानिज इन्सेफलाइटिस र मलेरिया लगायत किटजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियान मंसिर ११ गतेदेखि सुरु गरिएको थियो।
स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहका अनुसार अभियानअन्तर्गत नगरपालिका भित्रका १२ वटै वडामा चरणबद्ध रूपमा लामखुट्टे नष्ट गर्ने औषधी छर्किने काम गरिएको हो। सडक छेउका नाला, पानी जम्ने सम्भावित स्थान, फोहोर थुप्रिने क्षेत्र तथा लामखुट्टे उत्पादन हुने जोखिमयुक्त स्थानहरूमा विशेष प्राथमिकताका साथ स्प्रे गरिएको उनले जानकारी दिए।
नगरपालिकाले यस कार्यक्रमबाट लामखुट्टेको लार्भा नष्ट भई किटजन्य रोगको फैलावट नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको छ। आगामी दिनमा पनि सरसफाइ प्रवर्द्धन तथा रोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख नागेन्द्र प्रसाद यादवले बताए।
अभियान सञ्चालनका क्रममा प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद धिमिरेले स्वास्थ्य शाखाको टोलीसहित औषधि स्प्रे भइरहेका विभिन्न स्थानमा पुगेर अनुगमनसमेत गरेका थिए।
No comments:
Post a Comment