Translate

Sunday, November 30, 2025

पुर्व-पश्चिम राजमार्गको विस्तार पुल र कलभर्ट निर्माणलाई प्राथमिकता

  



मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर १४

   पूर्वपश्चिम राजमार्गको विस्तार कार्यले सर्लाहीसहित पूर्वी तराईका जिल्लामा यातायात र स्थानीय जीवनशैलीमा ठुलो प्रभाव पारेको छ । धनुषाको कमला पुलदेखि पश्चिम सर्लाहीको बागमतीसम्मको सडक विस्तार जारी रहेको छ भने पुल र कलभर्ट निर्माणलाई प्राथमिकता दिइएको छ।
  कमला–ढल्केबर–पथलैया सडक योजनामा धनुषा, महोत्तरी र सर्लाहीका ठेक्का प्रभावित क्षेत्रहरूमा तीव्र गतिमा काम भइरहेको छ। आयोजना प्रमुख राजेशकुमार दासका अनुसार, “दर्जनौँ स्थानमा डाइभर्सन बनाइ, पुल र कलभर्टको काम धमाधम भइरहेको छ। साँघुरा पुललाई पूर्ण रूपमा भत्काएर नयाँ निर्माण गरिँदैछ, कतिपय ठाउँमा भने पुरानो पुलसँगै नयाँ पुल बनाइएको छ।”
  स्थानीय बस्ती र बजार क्षेत्रमा सडक विस्तारको काम गर्दा ठुलो चुनौतीका रूपमा रुख कटान, व्यक्तिगत र सामुदायिक संरचना भत्काउने, बिजुली र संचारको तार व्यवस्थापन, साथै खानेपानीको पाइपलाइन सार्ने काम देखा परेको छ। जङ्गल क्षेत्रहरूमा काम थाल्न रुख कटान अनुमति नपाउँदा परियोजना प्रभावित भएको निर्माण व्यवसायीहरूले बताएका छन्।
   सडक निर्माणले स्थानीय यातायातमा अस्थायी व्यवधान ल्याएको छ। सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकामा डाइभर्सन निर्माण गरी सवारीसाधनको आवागमन सुनिश्चित गरिएको छ।
  कमला–ढल्केबर–पथलैया सडक योजना अनुसार कमला पुलदेखि पथलैयासम्मको १३० किलोमिटर सडक तीन खण्डमा निर्माण हुँदैछ र सन् २०२७ सम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। सडक विस्तार अन्तर्गत, बजार क्षेत्रमा ३१ मिटर चौडाइको छ लेनसहितको सडक र अन्य ठाउँमा मेडियनसहित १८ मिटर चौडाइको चार लेनको सडक निर्माण हुनेछ। विश्व बैंकले यस परियोजनाका लागि १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग प्रदान गरेको छ।
  यस्तो अवस्थामा स्थानीय बासिन्दा र व्यवसायीले अस्थायी असुविधा भोगिरहेका भए पनि लामो अवधिका लागि सडक विस्तारले यातायात सहजता र आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


No comments:

Post a Comment