कौडेना गाउँपालिकामा धर्मशाला निर्माणका लागि पासवान सेवा समितिलाई निःशुल्क जग्गा हस्तान्तरण
पुर्वमन्त्री राय र गाउँपालिका अध्यक्षको सराहनीय पहल
मनोज यादव
सर्लाही, कात्तिक २८
सर्लाहीको कौडेना गाउँपालिकामा धर्मशाला निर्माणका लागि पासवान सेवा समितिलाई निःशुल्क जग्गा हस्तान्तरण गरिएको छ। पूर्व श्रम तथा यातायात मन्त्री तथा वर्तमान प्रदेश सांसद कौशल किशोर राय र गाउँपालिका अध्यक्ष रुपेश कुमार यादव ‘बबलु’को विशेष पहलमा करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा जग्गा खरिद गरी समितिलाई हस्तान्तरण गरिएको हो।
बिहीबार पासवान सेवा समितिद्वारा गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा आयोजित विशेष समारोहका बीच उक्त जग्गाको लालपुर्जा औपचारिक रूपमा समितिलाई हस्तान्तरण गरिएको थियो।
धर्मशाला निर्माणका लागि जग्गा उपलब्ध गराएको भन्दै स्थानीय टोलवासी र समितिका सदस्यहरूले सांसद राय र अध्यक्ष यादवलाई संयुक्त रूपमा सम्मान गरेका थिए।
गाउँपालिका अध्यक्ष यादवले धर्मशाला निर्माणपछि सामाजिक रूपमा पछाडि परेका दलित समुदायलाई सामाजिक, धार्मिक र सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहजता हुने बताउँदै यसले समुदायको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
त्यस अवसरमा सांसद रायले दलित समुदायको विकास र सामाजिक समावेशिताका लागि ठोस काम गर्ने प्रतिबद्धता जनाउँदै भने,“समाजमा समान अवसर र सम्मानका लागि आधारभूत सुविधा आवश्यक हुन्छ। धर्मशाला निर्माण र खानेपानी सुविधा त्यही दिशातर्फको महत्वपूर्ण कदम हो।”
सांसद रायले यसअघि सोही दलित बस्तीका करिब दुई सयभन्दा बढी घरपरिवारका लागि शुद्ध खानेपानीको व्यवस्था गराइसकेका छन्। उनले निर्वाचनका बेला गरेको बाचा अनुसार आफ्नै संसदीय विकास कोषबाट दुई हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गराई घरघरमा खानेपानी आपूर्ति सञ्चालन गराएका हुन्।
ट्यांकी निर्माणपछि दलित बस्तीका घरहरूमा पहिलोपटक निरन्तर शुद्ध खानेपानी प्रवाह सुरु भएको स्थानीयवासीहरूले बताएका छन्।
गाउँपालिका अध्यक्ष यादवका अनुसार छिट्टै धर्मशालाको निर्माण कार्य सुरु गरिने तयारी गरिएको छ। उनले धर्मशाला निर्माणले समुदायमा एकता, सहकार्य र सामाजिक सद्भाव बढाउने विश्वास पनि व्यक्त गरे।
No comments:
Post a Comment