Translate

Wednesday, November 19, 2025

कारको ठक्करपछि उपचाररत बागमतीका ५० वर्षीय पुरुषको मृत्यु

 



मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर ३

   सर्लाहीको बागमती नगरपालिका–११ मा मंगलबार भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। उक्त दुर्घटना पुर्व-पश्चिम राजमार्गमा पर्ने रायमाझी चौक र पुरानो चौकीको बीचमा भएको थियो।
   जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत एवं डिएसपी सरोज राईका अनुसार,मंगलबार दिउँसो बागमतीबाट हरिवनतर्फ जाँदै गरेको सेतो रंगको अज्ञात कारले पैदल हिँडिरहेका करिब ५० वर्षीय पुरुषलाई ठक्कर दिएर फरार भएका थिए । कारले पैदल यात्रीलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१.ख.३४५५ नम्बरको बसमा समेत ठोक्किँदा बसको दाहिने भागमा स्क्रेच लागेको राईले जनाएको छ। बस चालक पाचथर फिदिम–६ रानिटारका ३७ वर्षीय गणेश गुरुङ सँग भएको आवश्यक कागजातका आधारमा बस गन्तव्यतर्फ पठाइएको थियो।
   ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री बागमती–४ पर्साई टोल निवासी ५० वर्षीय केशव शिवाकोटीलाई तत्काल नमुना अस्पताल हरिवनमा उपचारको लागि लगिएकोमा अवस्था जटिल हुँदै गएपछि उनलाई राति १:३० बजे थप उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल रिफर गरिएको थियो।
  न्युरो अस्पतालमा उपचारकै क्रममा शिवाकोटीको बुधबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।
   दुर्घटनामा संलग्न अज्ञात कारसहित चालक फरार रहेकाले निजको खोजतलास तीव्र पारिएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment