Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
१६७ परिवारलाई लालपुर्जा : पाँच दशकको प्रतीक्षा टुंगियो
मनोज यादव---
सर्लाही ,कात्तिक २८
ब्रहम्पुरी गाउँपालिका–४ का १६७ परिवारले दशकौँदेखि भोगचलन गर्दै आएका जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन्। नापी कार्यालय सर्लाही, मलंगवाले शुक्रबार आयोजना गरेको कार्यक्रममा ती परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
कार्यक्रममा नापी कार्यालय प्रमुख संजय मानन्धर, ब्रहम्पुरी गाउँपालिका अध्यक्ष राम पदारथ साह तेली, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल र वडाध्यक्ष श्याम बाबु साहले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरेका हुन्।
५० वर्षभन्दा बढी समयदेखि भोगचलन गर्दै आएका स्थानीयवासीले अहिलेसम्म कानुनी स्वामित्व नपाएको अवस्थामा पहिलोपटक ठूलो संख्यामा लालपुर्जा वितरण गरिएको हो।लालपुर्जा वितरण सर्लाहीको साविक भेल्ही गाविस ब्लक नं. ३९० त्रिभुवननगर १, २, ३ हाल ब्रहम्पुरी गाउँपालिका–४ का घरधुरीलाई लक्षित गरिएको हो। नापी कार्यालयका अनुसार सो क्षेत्रमा रहेका २८८ कित्ता जग्गामध्ये १८५ कित्ता दर्ता भइसकेका छन् भने १०३ कित्ता दर्ता प्रक्रियामा छन्। ‘तेरो-मेरो निवेदन’ अन्तर्गत दर्ता भएका ६८ मध्ये २८ फर्छ्यौट भइसकेका र ४० प्रक्रियामा रहेका छन्।
सदरमुकाम मलंगवा स्थित नापी कार्यालयको प्रांगणमा आयोजित कार्यक्रममा लालपुर्जा लिन आएका स्थानीयवाहरुसी निकै उत्साहित देखिएका थिए । जग्गा धनी प्रमाणपत्र प्राप्त गरेका ७५ वर्षीय प्रह्लाद साह रौनियारले वर्षौँदेखि लालपुर्जाको लागि धाउँदै आएको यात्रा आज टुंगिएको बताए। “अब घर आफ्नै जग्गामा भएको पक्का प्रमाण पाइयो,” उनले भने।
त्यस्तै कार्यक्रम स्थलमै भेटिएका ८० वर्षीया पार्वती देवीले पनि लामो प्रतीक्षा पछि प्राप्त भएको स्वामित्वप्रति खुसी व्यक्त गर्दै जीवनको अन्तिम चरणमै भए पनि कागज पाउँदा ठूलो राहत महसुस भएको बताइन्।
नापी कार्यालय प्रमुख मानन्धरले आफु यस कार्यालयमा आएदेखि हालसम्म करिब १ हजार लालपुर्जा वितरण गरिसकेको बताए । उनका अनुसार सबैको साथ–सहयोग तथा स्थानीय तहको सक्रिय सहभागिताका कारण छिटोछिटो नापी–दर्ता प्रक्रिया अघि बढ्न सकेको हो ।
पाँच दशकभन्दा बढी समयदेखि भोगचलन हुँदै आएको जग्गाको नापजाँच, अभिलेखीकरण र कानुनी प्रक्रिया पूरा गरेपछि लालपुर्जा वितरण गरिएको कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment