Translate

Sunday, October 19, 2025

पूर्व–पश्चिम राजमार्ग विस्तारमा ढिलाइ : नौ महिना बित्दा १० प्रतिशत मात्रै प्रगति



उषा किरण पोखरेल---

सर्लाही ,कात्तिक २

   पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केबर–पथलैया खण्ड विस्तार कार्य सुरु भएको नौ महिना बितिसक्दा पनि गति लिन सकेको छैन । गत वर्ष पुस १७ गते सर्लाही, महोत्तरी र धनुषा जिल्लामा विस्तार कार्य सुरु गरिएको भए पनि हालसम्म जम्मा १० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । रौतहट र बाराका सडक खण्डमा त ठेक्का प्रक्रिया नै अझै बाँकी छ ।
  करीब १३० किलोमिटर लम्बाइको यो सडक विस्तार आयोजना विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको हो । यस योजनाअनुसार सहरी तथा बजार क्षेत्रका सडकलाई ३१ मिटर फराकिलो (छ लेनसहित) र अन्य क्षेत्रमा ‘मेडियन’सहित १८ मिटर चौडाइको चार लेनको सडकमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।
    कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर राजेश कुमार दासका अनुसार काममा सुस्तता मुख्यतः जंगल क्षेत्रका रुख कटानको अनुमति नपाएकै कारण भएको हो ।“रुख कटान प्रक्रिया लामो र जटिल भएकाले निर्माण अघि बढ्न सकेको छैन,” दासले बताए ।
  हाल सर्लाही, महोत्तरी र धनुषामा निर्माण व्यवसायीहरूले रुख नभएका क्षेत्रमा मात्रै काम अघि बढाइरहेका छन् । ती क्षेत्रमा माटो सम्याउने, सडक सफा गर्ने र कल्भर्ट पुनर्निर्माण जस्ता कार्य भइरहेको दासले जानकारी दिए ।
   सडक विभागले रौतहट र बाराका बाँकी खण्डमा पनि छिट्टै प्राविधिक टोली परिचालन गर्ने तयारी गरेको छ । सर्लाही खण्डमा सागरनाथ चोकमा कल्भर्ट निर्माण, फूलजोर, कालिञ्जोर, लखन्देही र चापिनी खोलामा पुल विस्तार, साथै लालबन्दी र बस्तीपुर क्षेत्रमा माटो भर्ने काम भइरहेको विभागले जनाएको छ ।
    सडक विस्तारमा जंगल क्षेत्रका रुख कटान, बिजुलीका पोल र टेलिफोनका तार हटाउने कार्य प्रमुख चुनौती बनेका छन् ।


No comments:

Post a Comment