चन्द्रनगरमा जेन–जी युवामाथि सामुहिक कुटपिट, गाउँमा तनाब
मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक ६
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा वडा अध्यक्षको नेतृत्वमा जेन–जी युवामाथि सामूहिक कुटपिट भएको छ। वडा नं १ का अध्यक्ष रामेश्वर प्रसाद महतो, उनका भतिज मुकेश, अजय, अनिल महतो, सहयोगी राम साह, बिजय महतो र शंकर महतोलगायतको समूहले किसनपुर निवासी जेन–जी युवा विवेकानन्द गुप्तामाथि आक्रमण गरेको स्थानीयहरूले बताएका छन्।
घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीहरूका अनुसार वडा अध्यक्ष पक्षले गुप्ताको घर घेराउ गर्दै कुटपिट गरेको थियो। सो घटनापछि गाउँमा तनाबपूर्ण अवस्था सिर्जना भएको छ।
घटनाको जड भने वडा कार्यालयको मोटरसाइकल विवाद रहेको बताइएको छ। मिति कात्तिक २ गते आइतवार वडा कार्यालयका सचिव रमन लुइँटेलको मोटरसाइकल वडा अध्यक्षले प्रयोगका लागि लगेका थिए। तर सचिवलाई जानकारी नदिई मोटरसाइकल लिइएपछि केही युवाहरूले सामाजिक सञ्जालमा “वडा अध्यक्षले मोटरसाइकल चोरी गरेका छन्” भन्ने आरोपसहित पोस्ट गरेका थिए।
सोही पोस्टको विषयलाई लिएर वडा अध्यक्ष पक्ष र जेन–जी युवाबीच वादविवाद चर्किँदै कुटपिटमा परिणत भएको हो। जेन–जी युवा दिपेश महतोका अनुसार “सामाजिक सञ्जालमा राखिएको पोस्टलाई बहाना बनाएर विवेकानन्दमाथि वडा अध्यक्ष पक्षले योजनाबद्ध आक्रमण गरेको” हो।
वडा कार्यालयका सहयोगी पशुपति महतोका अनुसार आइतवार राति करिब १० बजे वडा कार्यालय खोल्दा वडा अध्यक्षले सचिवको मोटरसाइकल त्यहाँ ल्याएर राखेका थिए। त्यसपछि उनले आफ्नो निजि मोटरसाइकल फिर्ता लगेको बताए।
वडा सचिव रमन लुइँटेलले पनि यस विषयमा पुष्टि गर्दै भने, “वडा अध्यक्षले मेरो मोटरसाइकल लग्नु नै चोरी हो, मैले अनुमति दिएको थिइनँ।”
घटनापछि जेन–जी आन्दोलनका घाइते नेता उदय प्रकाश साहको नेतृत्वमा युवाहरूले वडा अध्यक्षविरुद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरूले “वडा अध्यक्ष रामेश्वर महतो पक्राउ गर” भन्ने नारासहित दोषीमाथि कारबाहीको माग गरेका छन्।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरीक्षक सरोज राईले प्रतिक्रिया दिँदै भने, “घटनाको प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ। दुबै पक्षलाई छलफलका लागि बोलाइएको छ र अहिले स्थिति नियन्त्रणमा छ।”
No comments:
Post a Comment