Translate

Thursday, October 16, 2025

प्रादेशिक अस्पतालअगाडिको सडक फोहोरको डंगुरमा परिणत, नगरपालिकाको बेवास्ता



मधेशदूत समाचारदाता----
सर्लाही , असोज ३१

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न- ९ स्थित प्रादेशिक अस्पतालअगाडिको सडक अहिले फोहोरको डंगुरमा परिणत भएको छ। सडक किनारको नाला र सडकभरि थुप्रिएको फोहोर र त्यसबाट निस्किएको दुर्गन्धका कारण स्थानीयवासी लगायत उपचारका लागि आउने बिरामी तथा  सेवाग्राहीहरु  दैनिक हैरान छन्।
  तिहारको तयारीले सहरभर चहलपहल बढ्दै गर्दा पनि उक्त क्षेत्र फोहोरमै ढाकिएको देखिन्छ। सडकछेउमा प्लास्टिक, बासी खानेकुरा तथा  अस्पताल र पसलबाट निस्किएका फोहोर पदार्थसम्म खुलेआम फ्याँकिँदै आएका छन्। यसका लागि नगरपालिकाले  कुनै प्रभावकारी कदम नचालेको स्थानीयहरूको गुनासो छ।
  स्थानीय राकेश यादव भन्छन्, “फुलको सिजनमा पनि बाटोमा फोहोर फुलिरहेको छ, नगरपालिकाले सुगन्ध होइन, दुर्गन्धको व्यापार गरिरहेको छ।”
  यस्तै, अस्पताल आउने बिरामीका अभिभावकहरू फोहोरका थुप्राबाट आउने दुर्गन्धका कारण निरोगी मानिस पनि रोगी बनिरहेको बताउँछन्। “अस्पताल उपचारको ठाउँ हो, तर यहाँ त रोग बढाउने वातावरण बनेको छ,” एक बिरामीका आफन्तले भने।
  नगरपालिकाले ‘सफा सहर, सुन्दर मलंगवा’ भन्ने नारा अघि सारेको छ, तर व्यवहारमा त्यो नारा सडकका फोहोरभित्र हराएको देखिन्छ। तिहार नजिकिँदै गर्दा फोहोर व्यवस्थापनमा नगरको ध्यान नजानु स्थानीयका लागि चिन्ताको विषय बनेको छ।
  स्थानीय बासिन्दाले तुरुन्त फोहोर व्यवस्थापन र नियमित सरसफाइको माग गरेका छन्। 


No comments:

Post a Comment