Translate

Friday, October 17, 2025

मजदूरीमा बाध्य बालबालिकाको शिक्षामा सुधारका उपायबारे मलंगवामा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

 


मधेशदूत समाचारदाता
सर्लाही, असोज ३१

     बाल कल्याण समाज सर्लाहीले दीपावली तथा छठ पर्व–२०८२ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसँगै “मजदूरीका लागि बाध्य पारिएका बालबालिकाहरूको शिक्षामा पहुँच अभिवृद्धिका लागि सरोकारवालाहरूको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
   मलंगवास्थित जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुन्दर श्याम रायले गरेका थिए भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह उपस्थित थिए। कार्यक्रममा मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन्।
    कार्यक्रममा सरोकारवालाहरूले मजदूरीका कारण शिक्षाबाट वञ्चित भएका बालबालिकालाई विद्यालयमा पुनःभर्ना गराउने, अभिभावकहरूमा चेतना जगाउने, र स्थानीय तह तथा संघ–संस्थाबीच सहकार्य सुदृढ गर्ने विषयमा सुझावहरू दिएका थिए।
    सोही अवसरमा बाल कल्याण समाजले टुहुरा, दलित, अपाङ्ग, असहाय तथा उपेक्षित बालबालिकाको हितमा निरन्तर सहयोग पुर्‍याउँदै आएका संघ–संस्था र व्यक्तिहरूलाई प्रशंसा–पत्र प्रदान गरेको थियो।


    कार्यक्रमको सञ्चालन शिक्षक सन्तोष कर्णले गरेका थिए भने स्वागत मन्तव्य राष्ट्रिय दलित समाज कल्याण संघका कार्यक्रम अधिकृत गोविन्द पासवानले दिएका थिए।
      अन्तरक्रियामा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष अधिवक्ता राजेश पासवान, बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र कुसवाहा, स्ववियु सर्लाही क्याम्पसका सभापति सुजित यादव, नागरिक समाजका अगुवाहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी , पत्रकार र सरोकारवालाहरु लगायतको  उपस्थिति रहेको थियो।


No comments:

Post a Comment