Translate

Friday, October 17, 2025

सर्लाहीमा मतदाता नामावली संकलनको काम तीव्र गतिमा चल्दे , दैनिक सय भन्दा बढीको नाम दर्ता



मधेशदूत समाचारदाता----
सर्लाही, असोज ३१

   जिल्ला निर्वाचन कार्यालय सर्लाहीले फाल्गुन २१ गतेको  प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको छ। यसअघि निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावली संकलन स्थगित हुने व्यवस्था थियो, तर यसपटक भने सरकारले नयाँ अध्यादेशमार्फत मतदानका लागि योग्य १६ वर्ष पूरा गरेका नागरिकलाई समेत नाम दर्ता गर्न पाउने व्यवस्था मिलाएको छ।
  जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहका अनुसार, आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले असोज ८ गते मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि देशैभर असोज ९ गतेबाट काम सुरु भएको थियो। सर्लाहीमा भने असोज १२ गतेदेखि मात्र सेवाग्राही आउने क्रम सुरु भएको र सो दिन १०६ जनाले नाम दर्ता गराएका थिए।
   दशैँ बिदा र बाढी  तथा  सार्वजनिक बिदाका कारण काम केही दिन प्रभावित भएको प्रमुख साहले बताए । असोज २१ देखिनै  हरेक दिन दर्जनौं नागरिकले मतदाता नामावलीमा नाम दर्ता गरेका छन्। सो अवधिमा असोज २१ मा १३५, २२ मा ९०, २३ मा ११८, २४ मा ९८ र २६ मा १७७ जनाले नाम दर्ता गराइ सकेको  जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।
   निर्वाचन अधिकृत साहका अनुसार १६ वर्ष पूरा भएका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भए पनि फागुन २० गतेसम्म १८ वर्ष पूरा नभएकाले मतदान गर्न पाउने छैनन्। यस पटक निर्वाचन आयोगले जुनसुकै जिल्लामा रहेको जिल्ला निर्वाचन कार्यालयमा गएर मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न मिल्ने व्यवस्था मिलाएको छ।
   सर्लाहीमा हाल नामावली दर्ता तथा अद्यावधिक कार्य केवल सदरमुकाम मलंगवास्थित जिल्ला निर्वाचन कार्यालयबाट मात्र भइरहेको छ। जिल्लाभरिका नागरिकलाई यही कार्यालयमा पुग्नुपर्ने भएकाले केही असुविधा भएको देखिएको छ। इलाका प्रशासन कार्यालयमार्फत पनि काम सुरु गराउने पहल भए पनि तत्काल यसै  कार्यालयबाट मात्रै काम गर्नु भनी निर्देशन आएको जिल्ला निर्वाचन अधिकृत साहले जानकारी दिए।


No comments:

Post a Comment