सर्लाहीमा वर्षा र डुबानको कहर: १६ सयभन्दा बढी घरपरिवार प्रभावित, उद्धार र राहत कार्य जारी
मनोज यादव---
सर्लाही, असोज २१
शुक्रबार रातिदेखि लगातार परेको अविरल वर्षाले मधेश प्रदेशको जनजीवन अस्तव्यस्त बनेको छ। दुई दिनदेखिको वर्षाले सर्लाही सहितका जिल्लामा ठूला खोलानालाहरूमा पानीको बहाव बढ्न थालेपछि बाढी र डुबानको जोखिम एक्कासी बढेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार बाढी र डुबानका कारण हालसम्म १,६१९ घरपरिवार प्रभावित भएका छन्। बागमती र लखन्देही खोलामा आएको बाढीले सबैभन्दा बढी क्षति पुर्याएको जनाइएको छ।
बागमती नदीको बाढीले बलरा नगरपालिका वडा नं. ३ लक्ष्मीपुरका करिब ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १५० घर डुबानमा पारेका छन्। सोही क्रममा चक्रघट्टा गाउँपालिका वडा नं. १ पडरियामा २० वटा कच्ची घर पूर्ण रूपमा भत्किएका छन्।
लखन्देही खोलामा आएको बाढीले मलंगवा नगरपालिका वडा नं. ५ भाँडसरमा करिब दुई सय घर डुबानमा परेका छन्। त्यस्तै कौडेना गाउँपालिका वडा नं. ७ शिवनगरमा खोलाले बाँध कटाउँदा ३५० देखि ४०० घर डुबानमा परेका छन्। सो क्षेत्रमा पूरै बस्ती नै जलमग्न बनेपछि उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले त्यहाँका १९ जनालाई सुरक्षित उद्धार गरेको छ भने करिब चार सय परिवार अझै विस्थापित अवस्थामा छन्।
कविलासी नगरपालिका वडा नं. ८ अगर्वामा झिम खोलाको बाढीबाट १४ घर प्रभावित भएका छन्। हरिवन नगरपालिका अन्तर्गत चिनी मिल क्षेत्रका करिब ४० घरमा पानी पसेको छ भने बरहथवा नगरपालिका वडा नं. ७ डोम टोलमा सोती खोलाको बाढीले १५ घर डुबानमा पारेको छ। गोडैता नगरपालिकामा पनि दर्जनौँ घरमा पानी पसेको विवरण प्राप्त भएको छ।
प्रवक्ता राईका अनुसार अहिले ठूलो जनधनको क्षति नभए पनि जोखिम बढेकाले प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ। प्रशासनले राहत वितरण र उद्धार कार्यलाई तीव्रता दिएको छ।
यसैबीच, कौडेना गाउँपालिका–३ मा लखन्देही खोलाले हुलाकी राजमार्गको फुलपरासी नजिक करिब १५० मिटर पक्की सडक बगाएको छ। सडक अवरुद्ध भएपछि स्थानीय युवाहरूले बाँसको अस्थायी लचका बनाएर सोमबार बिहानदेखि आवतजावत सञ्चालनमा ल्याएका छन्।
वर्षा रोकिएसँगै सोमबारदेखि मौसम सुधार हुँदै गएपछि जनजीवन विस्तारै सामान्य बन्दै गएको छ। प्रशासनले भने अझै पनि सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
No comments:
Post a Comment