Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
सर्लाहीका १० पालिकामा बजेट निकासा रोकिँदा तलब–भत्ता रोकियो
दशैंअघि कर्मचारी र सेवाग्राही निराश
मनोज यादव---
सर्लाही, असोज १०
दशैं नजिकिँदै गर्दा सर्लाहीका १० वटा पालिकामा बजेट निकासा हुन नसक्दा कर्मचारीले तलब पाउने र सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता पाउने आशा निराशामा बदलिएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका अनुसार जिल्लाका २० पालिकामध्ये हालसम्म केवल १० पालिकाले मात्र खाता सञ्चालन गरेका छन्। प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईँका अनुसार लालबन्दी, बागमती, हरिपुर, गोडैता, बलरा नगरपालिका र धनकौल, रामनगर, कौडेना, ब्रह्मपुरी तथा चन्द्रनगर गाउँपालिकाले तलब र सामाजिक सुरक्षा भत्ताको रकम निकासा गरेका छन्।
तर, हरिपुर्वा, बरहथवा, कविलासी, ईश्वरपुर, मलंगवा, हरिवन नगरपालिका र विष्णु, बसबरिया, पर्सा तथा चक्रघट्टा गाउँपालिकाले भने अझै खाता सञ्चालन गरेका छैनन्। यस कारण दशैंअघि तलब–भत्ता वितरण हुने सम्भावना न्यून भएको गुरागाईँले बताए।
उनका अनुसार पालिकाको खाता सञ्चालन गर्न गाउँ–नगरसभा सम्पन्न गर्नुका साथै अघिल्लो आर्थिक वर्षको हिसाब–किताब सुत्रमा इन्ट्री गर्नुपर्ने व्यवस्था छ। यी प्रक्रिया पूरा गरेर आएका पालिकाको खाता तत्काल सञ्चालन गरिएको भए पनि सम्पर्कमै नआएका पालिकाको हकमा कोष नियन्त्रक कार्यालय असहाय बनेको छ।
शनिवारसम्म पनि सम्पर्कमा आएका पालिकाको खाता सञ्चालन गर्ने तयारी भए तापनि आवश्यक समन्वय नगर्ने पालिकाका कारण कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीले तलब पाउने आशा हराएको छ। यसैगरी सामाजिक सुरक्षा भत्ताको पर्खाइमा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलासमेत निराश भएका छन्।
No comments:
Post a Comment