सर्लाहीका चार पालिकामा जनचेतनामूलक सडक नाटक मञ्चन
मधेशदूत समाचारदाता---
सर्लाही, असोज ८
बालविवाह, दाईजो प्रथा र घरेलु हिंसा जस्ता सामाजिक कुरीति अन्त्यका लागि सर्लाहीमा सडक नाटक मञ्चन गरिएको छ। “हाम्रो सहकार्य परियोजना” अन्तर्गत दलित महिला केन्द्र नेपाल (CDWN) र नेपाल दलित सेवा समाज (NDSS) सर्लाहीको आयोजनामा तथा UN Women र फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा सडक नाटक मञ्चन गरिएको हो।
आयोजक संस्थाका मधेश प्रदेश संयोजक संजय कुमार मण्डलका अनुसार सदरमुकाम मलंगवासहित बरहथवा, ब्रहमपुरी र हरिपुर्वा गरी जिल्लाका चार पालिकाका १० स्थानमा उक्त नाटक मञ्चन गरिएको हो। समाजमा विद्यमान हानिकारक मूल्य मान्यतालाई हटाएर सामाजिक परिवर्तन गर्ने उदेश्यका साथ सडक नाटक मञ्चन गरिएको उनले बताए।
विनोद मण्डलको निर्देशनमा समाज कल्याण युवा केन्द्र कौडेनाका कलाकारहरूले प्रस्तुत गरेको सडक नाटकलाई स्थानीयबासीहरुले उत्साहपुर्वक अवलोकन गरेका थिए। नाटक अवलोकन गरिसके पश्चात् स्थानीय दर्शकहरुले यसमा प्रस्तुत भएका विषयबस्तुले समुदायलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै बालविवाह, दाईजो र घरेलु हिंसाबाट हुने नकारात्मक प्रभावबारे सचेतना जगाएको बताए ।
यस्ता जनचेतनामूलक गतिविधिले समुदायमा संवाद, विचार र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन मद्दत मिल्ने आयोजक र सहयोगी संस्थाहरुले अपेक्षा गरेका छन् ।
No comments:
Post a Comment