Translate

Friday, September 19, 2025

सर्लाहीमा आधा दर्जन बढी स्थानीय तहको सम्पूर्ण सेवा ठप्प,जनता मारमा

 

मधेशदूत समाचारदाता
सर्लाही, असोज ३

   जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सर्लाहीका आधा दर्जन बढी स्थानीय तहहरु सम्पूर्ण  सेवाहरु पूर्ण रूपमा ठप्प भएको छ। लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपूर्वा, ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका कार्यालय तथा  वडा कार्यालयदेखि सवारीसाधन र कागजातसम्म जलेर नष्ट भएपछि सेवा ठप्प बनेको हो।
   लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेका अनुसार कार्यालयका सम्पूर्ण कागजात, कम्प्युटर, फर्निचर खरानी भएका छन्। नगरप्रमुख र उपप्रमुखका गाडी, स्कारपियो, जेसीबी, डोजर, ट्रक र ट्र्याक्टरसहितका सवारीसाधन क्षतिग्रस्त भएका छन्। वडा नं. ५, ६, ७ र ९ का कार्यालय पनि तोडफोड र आगजनीबाट प्रभावित छन्।
  हरिवन नगरपालिकामा निर्माणाधीन भवनसहित वडा नं. ४, ८, १० र ११ का कार्यालय जलेका छन्। नगरप्रमुख रमेश बुढाथोकीले “केही दिनसम्म सेवा दिन सकिने अवस्था छैन” भने।
  सबैभन्दा बढी क्षति बरहथवा नगरपालिकामा भएको प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले बताए। प्रशासनिक भवन, वडा कार्यालय, ग्रेडर, ब्याक हो लोडर, टिपर, १३ मोटरसाइकल, तीन स्कुटर र एक रोलरसहित धेरै सम्पत्ति नष्ट भएको उनले जानकारी दिए।
  हरिपुर नगरपालिकामा पनि प्रशासकीय भवन, गाडी, मोटरसाइकल र सम्पूर्ण कागजात जलेर सेवा बन्द भएको नगरप्रमुख गोपाल पंजियारले जनाएको  छ।
  यस्तै, चन्द्रनगर गाउँपालिकामा समेत आवश्यक सम्पत्ति जलेपछि अध्यक्ष राजकुमार महतोले तत्काल सेवा दिन असम्भव रहेको बताए। 
   पालिकाका कार्यालय र वडा कार्यालयहरुमा आगजनी हुँदा व्यक्तिगत घटना दर्तादेखि दैनिक प्रशासनिक काम ठप्प बनेको छ। यसले सर्वसाधारणलाई ठूलो मार परेको छ। जिल्लाका अन्य सरकारी कार्यालय भने आइतबारदेखि सेवा सुचारु भएका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज राईका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
   अहिले यातायात, विद्यालय र हाटबजार सामान्य अवस्थामा फर्किएका छन्। तर, प्रभावित आठ स्थानीय तहमा सेवा कहिले सुचारु हुने भन्ने यकिन हुन सकेको छैन।


No comments:

Post a Comment