Translate

Saturday, September 27, 2025

भूत मेलाका लागि प्रख्यात भगवती सोनासती माई

 



उषा किरण पोखरेल---
महोत्तरी, असोज १२

    महोत्तरी जिल्लाको औरही नगरपालिका–७, भोइल गाउँमा अवस्थित सोनासती महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात छ। सदरमुकाम जलेश्वरदेखि २३ किलोमिटर उत्तरमा रहेको यो मन्दिर मिथिला क्षेत्रकै भगवती मन्दिर तथा शक्तिपीठहरूमध्ये महत्त्वपूर्ण एवं चर्चित धार्मिक स्थलको रूपमा मानिन्छ।
  यस मन्दिरमा विशेषगरी भूत–प्रेत, पिशाच, दुष्ट आत्मा तथा बोक्सा बोक्सीहरूले सताएका व्यक्तिहरूलाई झारफुक र तान्त्रिक विधिबाट निको हुने विश्वास गरिन्छ। सन्तान नभएकाले सन्तान प्राप्त हुने, मनोकामना पूरा हुने विश्वास रहेको पुजारी कामेश्वर झाले बताउनुभयो। यहाँ दैनिक पूजापाठ, आराधना, दर्शन तथा बलि दिन भक्तजनको घुइँचो लाग्छ।
    करीब पाँच सय वर्षअघि यो क्षेत्र घना जंगलले ढाकिएको थियो। गाई–भैंसी चराउन मानिसहरू यहाँ आउँथे र जंगलमै बास बस्नुपर्थ्यो। एकदिन पाँचवटा भैंसी हराएपछि चरवाहाहरूले खोज्दै जाँदा हाल मन्दिर रहेको स्थानमा पुग्दा सोनासती महारानी मानव रूपमै प्रकट भई ‘भैंसी आफूसँगै छ, तर मलाई दैनिक पूजापाठ र साँझ आरती गरे मात्र फिर्ता दिन्छु’ भन्नुभयो। त्यस दिनदेखि नै सोनासती माईको पूजाआजा सुरु भएको किंवदन्ती छ।
     त्यसपछिका कथनअनुसार, माझी झाको मित्र माझी चौधरी वीरगञ्ज जेलमा परेका बेला ‘मुक्त भएपछि मन्दिर बनाउँछु’ भनेर भाकल गरेका थिए। उनी जेलमुक्त भएपछि यही स्थानमा माटाको घर बनाएर मन्दिर स्थापना गरिएको भनाइ छ। पछि सोनामाईकै नाममा स्थायी मन्दिर बनेको र अहिलेको नयाँ भव्य मन्दिरमा पूजा, पाठ, आरती हुने गरेको छ ।
    नेपालकै धार्मिक एवं ऐतिहासिक धरोहरहरूमध्ये यो मन्दिर एक महत्त्वपूर्ण शक्तिपीठ हो। विशेषगरी दसैंमा भारतका छिमेकी क्षेत्रबाट समेत हजारौं भक्तजनहरु यहाँ पूजाआजा, दर्शन, भेटी चढाउन तथा भूत मेलामा सहभागी हुन आउँछन्। घटस्थापनादेखि विजया दशमीसम्म यहाँ धुमधामका साथ पूजाआजा र मेला लाग्छ।
    मनोकामना पूरा भएको विश्वासमा भक्तहरूले लड्डु, मठाई, बोका, परेवा, राँगा लगायतका पञ्चबलि चढाउँछन्। कतिले सुन–चाँदीका गहना, कपडा, मुकुट, चनामा अर्पण गर्छन्। कतिपयले विभिन्न आकारका घण्टी चढाउने परम्परा पनि छ।
   वैशाखदेखि असोजसम्म वरिपरिका गाउँका महिला–पुरुषले चामल, धूप, अगरबत्ती, फूल र नगद संकलन गरी समूह बनाएर माताको पूजा गर्न आउने चलन छ। मन्दिर परिसरमा गणेश, राजदेवी, सरस्वती लगायतका देवदेवीका मूर्तिसहित तपस्वी बाबाको धुनी छ, जहाँ वर्षभरि दिनरात आगो बलिरहन्छ।
   बडादसैंको अवसरमा यहाँ ठुलो भूत मेला लाग्छ। जनविश्वासअनुसार असोज शुक्ल प्रतिपदादेखि विजया दशमीसम्म सोनासा महारानी साक्षात् विराजमान रहन्छिन्। घटस्थापनाको दिन बिहान ३–४ बजे पुजारीहरूको घरबाट बाजागाजासहित डाला (धूप, दीप, अक्षता, कलश, नैवेद्य, रातो कपडा, खड्ग आदि) लिएर मन्दिरमा घटस्थापना गरिन्छ र जमरा राखिन्छ।
    द्वितीया देखि षष्ठीसम्म ठूलो सङ्ख्यामा भक्तजन पूजाआजा र बलि दिन आउँछन्। सप्तमीमा विभिन्न ठाउँबाट फूलपाती भित्र्याउने परम्परा छ। अष्टमीको दिन विशेष नशा पूजा गरी रातभर धूप–दीप, नैवेद्य, चुरा, सुन–चाँदी अर्पण गरेर बोकाको बलि दिन्छन्। महानवमीको दिन सयभन्दा बढी राँगाको बलि चढाइन्छ।
   विजया दशमीको दिन पुनः डाला पुजारीको घरमा लगेर परम्परागत तरिकाले मेलाको समापन गरिन्छ। यस दिन वरिपरिको गाउँका मानिसहरू प्रसाद बाँड्दै ठूलो उत्सव गर्छन्।
   सबैभन्दा विशेष आकर्षण भनेकै चौथीदेखि अष्टमीसम्म लाग्ने भूत मेला हो। यस अवधिमा करिब पाँच सयजना मानिसहरू आफूलाई भूत–प्रेत वा बोक्साबोक्सीले सताएको विश्वासमा मन्दिर परिसरमा आइ दौडने, कराउने, लड्ने गर्दछन्। पुजारीहरूले तान्त्रिक मन्त्रद्वारा तिनीहरूलाई मुक्त गराउने विश्वास छ।

No comments:

Post a Comment