सर्लाहीमा बालबालिकाका लागि एक दिने अभिमुखीकरण तालिम
मधेशदूत समाचारदाता---
हरिपुर(सर्लाही),भदौ १९
सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकाका बाल समूह तथा सञ्जालमा आवद्ध २४ जना बालबालिकालाई एक दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ।
सङ्घीय संकल्प परियोजना अन्तर्गत सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामिण नारी उत्थान संघ, हरिपुर-२ को आयोजनामा सम्पन्न तालिममा प्रशिक्षक शान्ती राम भण्डारीले बालबालिकालाई सेफ गार्डिङ सम्बन्धी प्रशिक्षण दिनुभएको हो। कार्यक्रम संस्थाका सचिव सूर्य प्रसाद चालिसेको अध्यक्षतामा सुरु भएको थियो। सो अवसरमा संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले बालबालिकालाई आफ्नो अधिकारसँगै कर्तव्यप्रति सचेत गराउने लक्ष्य कार्यक्रमले लिएको जानकारी दिनुभयो।
तालिममा बालअधिकार, सुरक्षा, बालमाथि हुने दुर्व्यवहारका स्वरूप र त्यसका संकेतबारे व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ। साथै बालमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, संरचनागत र कार्यान्वयन पक्षबारे समेत जानकारी दिइएको थियो।
संस्थाकी अध्यक्ष गोमा देवी न्यौपानेका अनुसार यस किसिमका तालिमले बालबालिकाको चौतर्फी विकासमा टेवा पुग्नेछ र उनीहरूलाई आफू कसरी सुरक्षित रहने, आफ्नो अधिकारसँगै कर्तव्य पालना गर्न प्रेरणा प्रदान गरिएको छ।
भिजुअल प्रेजेन्टेशन तथा समूहगत कार्यमार्फत गरिएको तालिम धेरै प्रभावकारी भएको सहभागी ईश्वरपुर–१० समाज सुधार बाल समूहका सह-कोषाध्यक्ष मोहम्मद तौसिफ पठानले बताउनुभयो।
No comments:
Post a Comment