तोडफोड,आगजनी र लुटपाटमा संलग्नलाई सम्पत्ति फिर्ता गर्न प्रहरीको आग्रह
मधेशदूत समाचारदाता
सर्लाही, असोज ३
गत भाद्र २३ र २४ गते ‘जेनरेशन–जेड’ का युवाहरूले सर्लाहीमा सञ्चालन गरेको र्याली तथा विरोध कार्यक्रमका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले तत्काल लगिएका सम्पत्ति फिर्ता गर्न आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक सूचना जारी गर्दै सरकारी तथा निजी भवन, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानलगायतका स्थानबाट लगेका कागजात, ऐतिहासिक दस्तावेज, बहुमूल्य सामग्री, नगद, सवारीसाधन र हातहतियार तुरुन्तै नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो।
प्रहरीले सामग्री फिर्ता नगरे कानुनअनुसार कडा कारबाही हुने चेतावनीसमेत दिएको छ। साथै तोडफोड वा चोरीसँग सम्बन्धित फोटो, भिडियो वा सामाजिक सञ्जालका लिंक जो–कोहीसँग भए जिल्ला प्रहरी कार्यालयको इमेल malagwasanchar@gmail.com मा पठाउन समेत आग्रह गरिएको छ।
यस्ता प्रमाण उपलब्ध गराउने व्यक्तिको परिचय गोप्य राखिने जिप्रका सर्लाहीले जनाएको छ।
No comments:
Post a Comment