Translate

Friday, August 29, 2025

नेपाल संघीय समाजवादी पार्टीद्वारा उखु किसान आन्दोलनप्रति ऐक्यबद्धता, सरकारसँग माग पूरा गर्न जोडदार दबाब



मधेशदूत समाचारदाता---
काठमाडौं, भदौ १३ ।

   उखु किसानको लामो समयदेखि जारी आन्दोलनलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीले सरकारसँग किसानका माग तत्काल पूरा गर्न जोडदार दबाब दिएको छ।
  शुक्रवार माइतीघर मण्डलामा जारी आन्दोलनरत किसानहरूसँग ऐक्यबद्धता जनाउन पार्टीको केन्द्रीय उपमहासचिव जनक कार्कीको नेतृत्वमा प्रतिनिधि टोली पुगेको थियो। उक्त टोलीमा केन्द्रीय सचिव दिनेश पाख्रिन, बागमती प्रदेश इन्चार्ज चन्द्र तामाङ, केन्द्रीय सदस्य राजेन्द्र रामसहित अन्य नेताहरूको समेत सक्रिय उपस्थिति थियो।
  किसानहरूसँग भेटघाट गर्दै उपमहासचिव कार्कीले किसानको रगत–पसिनाको उचित मूल्य सरकारले बेवास्ता गर्नु असह्य भएको टिप्पणी गरे। उनले भने, “उखु किसानहरू यो देशका मेरुदण्ड हुन्। उनीहरूको पीडा बेवास्ता गर्ने काम अब सह्य हुँदैन। हाम्रो पार्टी किसान आन्दोलनसँग काँधमा काँध मिलाएर उभिन्छ, र सरकारलाई माग पूरा गर्न बाध्य पार्छ।”
  त्यस्तै, केन्द्रीय सचिव पाख्रिनले किसानलाई वेवास्ता गर्नु राष्ट्रघात सरह भएको उल्लेख गर्दै भने, “कृषकको पसिनाको मूल्य तिर्नु सरकारको दायित्व हो, दया होइन। राज्यले किसानलाई अपमानित बनाउने हो भने हाम्रो पार्टी चुप लागेर बस्दैन।”
   बागमती प्रदेश इन्चार्ज तामाङले आन्दोलन झनै चर्किने चेतावनी दिंदै भने, “आज किसानहरू पेटभरि खान र ऋण तिर्न संघर्षरत छन्। उनीहरूको न्यायोचित हक दिन नसक्ने सरकार कायर सावित हुनेछ।”
  त्यसैगरी, केन्द्रीय सदस्य राजेन्द्र रामले किसानको संघर्षलाई ऐतिहासिक बलिदानसँग तुलना गर्दै भने, “देशको विकासको बाटो कृषकको समृद्धिमा टेकेको हुन्छ। किसानलाई न्याय बिना समृद्ध नेपाल सम्भव छैन।”
  कार्यक्रमपछि पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै किसान आन्दोलनलाई पूर्ण समर्थन गरेको र कृषकका सबै जायज माग तुरुन्त पूरा गर्न सरकारलाई पुनः आग्रह गरेको छ।
  नेपाल संघीय समाजवादी पार्टीको यो ऐक्यबद्धताले आन्दोलनरत किसानलाई नयाँ ऊर्जा दिएको किसान नेताहरूले बताएका छन्। पार्टीले किसानमैत्री राष्ट्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता रहेको  स्पष्ट गरेको छ।


No comments:

Post a Comment