दलित बस्तीका निःशुल्क ट्युसन मास्टर शिवनाथ राउत कहारलाई चन्द्रनगरमा सम्मान
मधेश दूत समाचारदाता---
सर्लाही,साउन ३०।
सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले दलित समुदायका ट्युसन मास्टर शिवनाथ राउत कहारलाई गाउँपालिकाको तर्फबाट विशेष सम्मान गरेका छन्। विपन्न तथा दलित बस्तीका बालबालिकालाई करिब एक दशकदेखि निःशुल्क ट्युसन पढाउँदै आएका राउतलाई बिहीबार गाउँपालिकामा आयोजित कार्यक्रममा बधाईपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो।
चन्द्रनगर–५ निवासी राउतलाई हालै अनलाइन खबर मिडियाबाट देशभरका ४० वर्षमुनिका ४० प्रभावशाली युवामध्ये एक भनेर राष्ट्रिय स्तरमा सम्मानित गरिएको थियो। यही उपलब्धि पश्चात गाउँपालिकाले समेत स्थानीय स्तरमा उनको योगदानको कदर गर्दै सम्मान गरेको हो।
कार्यक्रममा अध्यक्ष महतोले राउतको सामाजिक सेवा र शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै यस्ता प्रेरणादायी व्यक्तित्वहरू समुदायको गर्वका विषय हुने बताए।
शारीरिक अपांगता भएका राउत एउटा लौरोको सहारामा हिँड्छन्। उनले बिहान ६ बजेदेखि ८ बजेसम्म आफ्नै घरमा करिब ३० जना दलित, मुसहर र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै आएका छन्। साथै, विभिन्न सहयोगी निकाय र व्यक्तिहरूको सहयोगमा उनले विद्यार्थीहरूलाई पुस्तक, कापी, कलम, झोलाजस्ता शैक्षिक सामग्री उपलब्ध गराउने गरेका छन्।
राउतको भनाइमा, “शिक्षा नै उज्यालो भविष्यको कुञ्जी हो, त्यसैले विपन्न समुदायका बालबालिकालाई पढाउन मेरो जीवन समर्पित गर्ने संकल्प लिएको छु।”
No comments:
Post a Comment