सर्लाहीमा घरेलु तथा लैंगिक हिंसाका उजुरी बढ्दो
मनोज यादव---
सर्लाही, साउन २२ ।
सर्लाही जिल्लामा जिल्ला प्रहरी कार्यालय अन्तर्गत संचालित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले आर्थिक वर्ष २०८१/०८२ मा हराएका ४२७ जना व्यक्तिहरूलाई फेला पारेको छ।
सेवा केन्द्रका अनुसार सो अवधिमा जम्मा ४६३ जना मध्ये १९९ जना महिला, २७ जना बालक,२२४ जना बालिका र १३ जना जेष्ठ नागरिकहरु हराएका थिए। तीमध्ये १८० जना महिला,२५ जना बालक,२०९ जना बालिका र १३ जना जेष्ठ नागरिकहरु फेला परेका छन् ।अझै ३६ जना व्यक्ति फेला पर्न बाँकी रहेको केन्द्रले जनाएको छ।
यसैगरी चालू आर्थिक वर्ष २०८२/०८३ को सुरुवातमा (हालसम्म)६ जना महिला,२ जना बालक र १६ जना बालिका गरि जम्मा २४ जना ब्यक्ति हराएको विवरण आएको छ। तीमध्ये १ जना बालक मात्र फेला परेका छन् भने २३ जना अझै हराइरहेका छन्।
सेवा केन्द्रको तथ्यांकअनुसार जिल्लामा गत वर्ष घरेलु हिंसा र लैंगिक हिसांसम्बन्धी उजुरी दिनेहरु पनि बढेका थिए। घरेलु हिंसाका ६०६ वटा र लैंगिक हिंसाका ५७५ गरि जम्मा १ हजार १ सय ८१ उजुरीहरु मध्ये १ हजार १९ वटाको फर्छ्यौट भइसकेका छन्। ती मध्ये ७० वटा सम्पर्कमा आएका छैनन् । २०८१/०८२ मा आएका कुल ११८१ उजुरीमध्ये १३ उजुरी मात्र अदालतसम्म पुगेका छन् भने ७९ उजुरीको समाधान बाँकी रहेको छ।
२०८२/०८३ को सुरुवातको केही साता अवधिमा मात्र ८८ वटा उजुरी दर्ता भइसकेका छन्। तीमध्ये १२ वटा घरेलु हिंसा र ७६ वटा लैंगिक हिंसासम्बन्धी छन्। तर हालसम्म कुनै उजुरी अदालतमा पुगेको छैन।
हराएका व्यक्तिहरू फेला पार्ने काम सन्तोषजनक देखिए पनि घरेलु हिंसा र लैंगिक हिंसाका उजुरीको समाधानमा ढिलाइ हुनु चिंता विषय बनेको नागरिक अगुवाहरुको भनाई छ।
No comments:
Post a Comment