Translate

Friday, August 22, 2025

मलंगवामा जडान गरिएका समरसियल, समाधान भन्दा बढी समस्या ---चौबीसै घण्टा खेर जान्छ पानी---

 



मनोज यादव–––
सर्लाही, भदौ ६ ।

मलंगवामा खानेपानी समस्याको तत्काल समाधानका लागि केही महिना अघि नगरपालिकाले जडान गराएका समरसियलहरू अहिले उल्टै स्थानीय बासिन्दाका लागि चिन्ता र समस्या बन्न थालेका छन्।
  नगरकार्यपालिका बैठकको निर्णयअनुसार १२ वटै वडामा लाखौँ रुपैयाँ खर्च गरेर जडान गरिएका समरसियलहरू सुरुमा राहतको उपाय बने पनि अहिले दुरुपयोग र लापरबाहीका कारण खानेपानी खेर जान थालेको छ। आवश्यक समयमा मात्रै खोल्ने र बाँकी समय बन्द गर्ने सुविधा नराखिँदा धेरै स्थानमा चौबीसै घण्टा पानी बग्ने गरेको स्थानीयले बताएका छन्।
   लगातार पानी बगिरहँदा वरिपरिको जमिन हिलाम्मे बनेको छ भने ठूलो मात्रामा खानेपानी नष्ट भइरहेको छ। कतिपय स्थानमा त जडान गरिएका समरसियल प्रयोगविहीन भएर बेवारिसे बन्न थालेका छन्।
  स्थानीय युवा बिक्की यादव भन्छन्, “नगरपालिकाले तत्काल समस्या समाधान गर्ने उद्देश्यले राम्रो कदम उठायो, तर अहिले वेवास्ता हुँदा खानेपानीजस्तो मूल्यवान स्रोत खेर गइरहेको छ।”
  यस्तै विमला देवीले भनिन्, “खानेपानीकै लागि भनेर ठूलो रकम खर्च गरियो, तर व्यवस्थापन अभावले अहिले नगरबासीलाई सुविधा भन्दा बढी समस्या भएको छ। आवश्यक परेमा खोल्ने, नपरेमा बन्द गर्न मिल्ने व्यवस्था नगरिएको कारण पानी अनावश्यक खेर गइरहेको छ।”
  स्थानीयबासीले खानेपानीजस्तो महत्त्वपूर्ण स्रोत दुरुपयोग हुन नदिन नगरपालिकाले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।


No comments:

Post a Comment