सखुबनीमा २५ लाखभन्दा बढी लागतमा खेल मैदान निर्माण सुरु, मंसिरभित्र सम्पन्न हुने
रितीक अधिकारी
सर्लाही, असार १३
सर्लाहीको इश्वरपुर नगरपालिका–५ सखुबनीमा सखुबनी युवा क्लबको खेल मैदान निर्माणको शिलान्यास गरिएको छ। २५ लाख ६१ हजार ४५१ रुपैयाँ २५ पैसाको लागतमा निर्माण हुन लागेको खेल मैदानको शिलान्यास इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले गर्नुभयो।
शिलान्यास कार्यक्रममा नगर प्रमुख आचार्यले स्थानीय युवाको मागलाई प्राथमिकतामा राख्दै खेल पूर्वाधार विकासलाई नगरपालिकाले विशेष महत्व दिएको बताउनुभयो। उहाँले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने भएकाले खेलमैदान निर्माणले क्षेत्रको खेल गतिविधि थप सशक्त हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा सदस्य, स्थानीय युवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको सखुबनी युवा क्लबका अध्यक्ष उमेश आलेले जानकारी दिनुभयो। स्थानीयवासी बिनु श्रेष्ठले खेल मैदान निर्माणपछि युवाले खेलकुदमार्फत नयाँ अवसर पाउने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष आलेका अनुसार यस आर्थिक वर्षमा विनियोजित बजेटबाट खेलमैदान सम्याउने, पर्खालसहित घेराबार निर्माणलगायतका काम गरिनेछ। साथै, सखुबनीलाई फुटबलको हबका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले देखाएको सक्रियताप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
खेलमैदान स्तरोन्नतिको ठेक्का रोशन इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रालिले प्राप्त गरेको छ। कम्पनीले भ्याटसहित २५ लाख ६१ हजार ४५१ रुपैयाँ २५ पैसाको लागतमा आगामी मंसिर २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी इश्वरपुर नगरपालिकासँग सम्झौता गरेको छ।
निर्माण कार्य सम्पन्न भएपछि सखुबनी युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरेको अध्यक्ष आलेले जानकारी दिनुभयो।
No comments:
Post a Comment