मलंगवा नगरपालिकाको १६ औं नगरसभा मार्फत ५४ करोडभन्दा बढीको बजेट सार्वजनिक
मधेशदूत समाचारदाता---
सर्लाही , असार ११
मलंगवा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५४ करोड १९ लाख ८९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित १६ औं नगरसभामा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो।
“समृद्ध मलंगवा, स्वच्छ मलंगवा, सुरक्षित मलंगवा; कृषि, शिक्षा, स्वास्थ्य, सुशासन र पूर्वाधार विकास समृद्ध नगरको आधार” भन्ने मूल नारासहित प्रस्तुत नीति तथा कार्यक्रममा नगरको समग्र विकासलाई प्राथमिकतामा राखिएको छ।
नगरसभामा प्रस्तुत तथा पारित गरिएको बजेटमा कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको विस्तार, पूर्वाधार निर्माण, सरसफाइ व्यवस्थापन, सुरक्षित नगर निर्माण तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई विशेष महत्व दिइएको छ।
नगर प्रमुख यादवले प्रभावकारी सेवा प्रवाह, नागरिकमैत्री प्रशासन र दिगो पूर्वाधार निर्माणमार्फत मलंगवालाई समृद्ध, स्वच्छ र सुरक्षित नगरका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले नगरवासीको जीवनस्तर उकास्न विकासका विभिन्न योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
नगरपालिकाको सभा हलमा आयोजित नगरसभामा वडाअध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
No comments:
Post a Comment