Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
पत्रकारिता आचारसंहिता उल्लङ्घन नगर्न सञ्चारकर्मीलाई मिडिया काउन्सिलको चेतावनी
मनोज यादव----
जनकपुरधाम, असार ९
मिडिया काउन्सिल मधेश प्रदेशले पत्रकारिता आचारसंहिता तथा सञ्चार माध्यमको जिम्मेवार अभ्याससम्बन्धी विषयमा विभिन्न माध्यमबाट प्राप्त गुनासा, उजुरी तथा सार्वजनिक चासोलाई गम्भीर रूपमा लिँदै सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार तथा सञ्चारकर्मीलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत रहेको मिडिया काउन्सिल मधेश प्रदेशले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अनलाइन सञ्चारमाध्यम, युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत दर्शक, पहुँच वा आम्दानी बढाउने उद्देश्यले अपुष्ट, भ्रामक, उत्तेजनात्मक तथा भ्रम सिर्जना गर्ने सामग्री प्रकाशन–प्रसारण नगर्न विशेष आग्रह गरेको छ।
काउन्सिलले सार्वजनिक निकाय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा अन्य कार्यालयमा अनुमति र आवश्यक मर्यादाबिना प्रवेश गरी समाचार सङ्कलन वा प्रसारणका क्रममा अस्वाभाविक दबाब र अवाञ्छित व्यवहार नगर्न पनि चेतावनी दिएको छ।
त्यसैगरी, कुनै व्यक्ति, संस्था वा समुदायविरुद्ध पर्याप्त तथ्य र प्रमाणबिना आरोप लगाउने, गालीगलौज गर्ने, मानमर्दन गर्ने तथा प्रतिष्ठामा आघात पुग्ने सामग्री प्रकाशन–प्रसारण नगर्न सञ्चारकर्मीलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा समाचारको सत्यता, सन्तुलन र विश्वसनीयता परीक्षण नगरी व्यक्तिको चरित्र, पेशागत छवि वा सामाजिक प्रतिष्ठामा नकारात्मक असर पर्ने सामग्री सम्प्रेषण नगर्न, सरकारी तथा सार्वजनिक कार्यालयमा कर्मचारी वा पदाधिकारीमाथि धम्की, दबाब वा अनावश्यक प्रभाव पार्ने गतिविधि नगर्न र सूचनाको अधिकारको प्रयोगलाई मर्यादित तथा जिम्मेवार बनाउनुपर्ने उल्लेख गरिएको छ।
काउन्सिलले बालबालिका, महिला, ज्येष्ठ नागरिक, हिंसापीडित तथा संवेदनशील अवस्थाका व्यक्तिसँग सम्बन्धित सामग्री प्रकाशन–प्रसारण गर्दा गोपनीयता, मानवीय संवेदनशीलता र कानुनी व्यवस्थाको पूर्ण पालना गर्न तथा पत्रकारिता पेशाको आडमा आर्थिक, सामाजिक वा व्यक्तिगत लाभ लिन खोज्ने गतिविधिबाट टाढा रहन पनि आग्रह गरेको छ।
सामाजिक सञ्जालको प्रयोग गर्दा पनि पत्रकारिता आचारसंहिता, तथ्यपरकता, सभ्यता र जिम्मेवारीलाई आत्मसात् गर्दै भ्रम, द्वेष वा उत्तेजना फैलाउने सामग्री प्रकाशन–प्रसारण नगर्न काउन्सिलले अनुरोध गरेको छ।
मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना कुमारी झाले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार, विश्वसनीय, मर्यादित र जनउत्तरदायी बनाउन सबै सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सरोकारवालाले पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएकी छिन् ।
No comments:
Post a Comment