मिस्टर एण्ड मिस सिजन–३ विजेताले इन्डोनेसियामा नेपालको प्रतिनिधित्व गर्ने
घनश्याम बलम्पाकी----
सर्लाही(लालबन्दी),असार ८
मिस्टर एण्ड मिस सिजन–३ (२०२६) को फाइनल कार्यक्रम यही असार २० गते होटल आर्या, लालबन्दीमा सम्पन्न हुने भएको छ। सर्लाही जिल्लाका प्रतिभावान युवा–युवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
प्रतियोगिताको विशेष आकर्षणस्वरूप मिस्टर एण्ड मिस २०२६ का विजेताहरूले जकार्ता, इन्डोनेसियामा सम्पन्न हुने ग्रान्ड फेसन इन्टरनेशनलमा सहभागी भई सर्लाही तथा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्राप्त गर्ने आयोजक म्याजेस्टिक ग्रुप इन्टरटेनमेन्ट प्रालिका प्रमुख अंकित साहले जानकारी दिए।
असार २० गते हुने फाइनल कार्यक्रममा ८ जना पुरुष र ७ जना महिलाले आफ्नो प्रस्तुति दिनेछन्। विजेता प्रतियोगीलाई मलेसिया, इन्डोनेसिया र थाइल्याण्डमा हुने सौन्दर्य प्रतियोगिताहरूमा समेत भ्रमण गराइने तथा आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ।
फाइनल प्रतियोगिताका लागि हाल छनोट भएका प्रतियोगीहरूको प्रशिक्षण सञ्चालन भइरहेको छ। प्रतियोगीहरूलाई प्रशिक्षक तथा कोरियोग्राफर रेणुका चौधरीले प्रशिक्षण दिइरहेको बताइएको छ।
संस्थाका प्रमुख साहका अनुसार अन्तर्राष्ट्रिय स्तरको उक्त मञ्चले विजेताहरूलाई विश्वस्तरीय फेसन, मोडलिङ, सांस्कृतिक आदान–प्रदान तथा अन्तर्राष्ट्रिय नेटवर्किङको अनुभव प्रदान गर्नेछ। साथै, प्रतियोगिताले युवाहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।
कार्यक्रमका आयोजक म्याजेस्टिक ग्रुपले सम्पूर्ण दर्शक, शुभेच्छुक, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध समेत गरेको छ।
No comments:
Post a Comment