प्रेमकथाको प्रतीक ‘सलहेस फूलवारी’एक दिनको मेला, वर्षभरि उपेक्षा : ‘सलहेस फूलवारी’को यथार्थ
मनोज यादव----
सर्लाही, वैशाख २
मिथिला सभ्यतासँग गहिरो सम्बन्ध बोकेको सलहेस फूलवारी अझै वार्षिक मेलामै सीमित हुँदा यसको विशाल धार्मिक तथा पर्यटकीय सम्भावना ओझेलमा परेको छ। जानकी मन्दिर पछिको महत्वपूर्ण गन्तव्य मानिने यो क्षेत्रको समुचित विकास हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।
हरेक वर्ष नयाँ वर्ष अर्थात् वैशाख १ गते यहाँ भव्य मेला लाग्ने गर्दछ। लहान नगरपालिकाबाट करिब चार किलोमिटर पश्चिममा अवस्थित फूलवारीमा राजा सलहेस र दौना मालिनको मन्दिर रहेको छ। मन्दिरअगाडि रहेको हरमको रुखमा यही दिन मात्र सुनाखरी प्रजातिको फूल फुल्ने विशेषता रहेको छ।
किंवदन्ती र धार्मिक विश्वास
किंवदन्तीअनुसार राजा सलहेस न्यायप्रेमी, पराक्रमी र जनताको हितमा समर्पित शासक थिए, जसका कारण उनी ‘लोकनायक’का रूपमा पूजिन्छन्। सलहेस र दौना मालिनबीचको प्रेमकथा मिथिला लोकसंस्कृतिमा अत्यन्त प्रसिद्ध छ। जनविश्वास अनुसार उनीहरूको पहिलो भेट यही फूलवारीमा भएको थियो।
भनिन्छ, प्रत्येक वर्ष वैशाख १ गते हरमको रुखमा फुल्ने फूल उनीहरूको प्रेमको प्रतीक हो। यो फूललाई सलहेस र दौना मालिनको आत्मिक मिलनको संकेतका रूपमा श्रद्धालुहरूले हेर्ने गर्छन्। यही विश्वासका कारण उक्त दिन हजारौँ भक्तजन फूल अवलोकन गर्न यहाँ पुग्ने गर्छन्।
मेलाका अवसरमा नेपालका विभिन्न जिल्लासहित भारतको बिहार राज्यका दरभंगा, मधुबनी, भागलपुर र अररिया लगायत स्थानबाट लाखौँ भक्तजन आउने गर्दछन्। तर, पर्याप्त धर्मशाला, शौचालय, यातायात र सुरक्षाको अभावका कारण उनीहरूलाई कठिनाइ भोग्नुपरेको छ।
यस क्षेत्रसँग सम्बन्धित मानिकदह, पकडियागढ र मैसोथा लाई ‘सलहेस सर्किट’का रूपमा विकास गर्ने अवधारणा धेरै पटक उठे पनि कार्यान्वयन भने सुस्त रहेको छ।
फूलवारी क्षेत्रमा औषधीय वनस्पति, सिमसार स्रोत तथा प्राकृतिक सौन्दर्यको समेत धनी रहेको छ। यहाँ पाइने वनस्पति र पानीको स्रोतले वैज्ञानिक अनुसन्धान तथा पर्यावरणीय महत्वसमेत बोकेको छ।
इतिहासअनुसार १४औँ शताब्दीमा राजा पुरादित्यले स्थापना गरेको फूलवारीलाई १६औँ शताब्दीमा राजा कुल्हेश्वरले संरक्षण गरेका थिए। परम्पराअनुसार फूलवारीमा सबैभन्दा पहिले राजा कुल्हेश्वरकै पूजा गरिन्छ।
स्थानीय सरोकारवालाले पूर्वाधार विकास, आवास, यातायात र संरक्षणमा ध्यान दिएमा सलहेस फूलवारी अन्तर्राष्ट्रिय स्तरको धार्मिक–पर्यटकीय गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, अब यो स्थल वार्षिक मेलामै सीमित नभई बाह्रै महिना पर्यटक आकर्षित गर्ने केन्द्रका रूपमा विकास गर्न जरुरी छ।
No comments:
Post a Comment