Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
अमिनको ‘मनपरी खेल’ ले चौधरीको ४ धुर जग्गा गायब, ९ लाखको बार्गेनिङको आरोप
मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर ४
नापी नक्सा मिलानमा हुने मनपरी र भ्रष्टाचारको जालो फेरि एकपटक नापी कार्यालय सर्लाही, मलंगवामा खुलेको छ। चक्रघट्टा गाउँपालिका–५ पडरिया निवासी विजय कुमार चौधरीले नापी कार्यालयका अमिन रोशन यादवविरुद्ध गम्भीर आरोप सार्वजनिक गरेका छन्।
चौधरीका अनुसार, उनले १५ वर्षअघि साविक मलंगवा नपा–३ ‘क’ किता नं. २१६३ को ०–१–११–१५ क्षेत्रफल (चार किल्लासहित) जग्गा विधिवत् किनेका थिए र १२ वर्षदेखि त्यहीँ बस्दै आएका छन्। तर हालसाबिकका क्रममा अमिन यादवले “क्षेत्रफल जस्ताको तस्तै राखिएको” भन्दै आफूबाट कागजातमा सहिछाप गराए।
तर पछि बैंकमा धितो राख्न नापी पुगेका चौधरीले वास्तविकता थाहा पाए। साविक नक्सामा रहेको क्षेत्रफलभन्दा चार धुर जग्गा हालसाबिकमा कटाइएर गायब पारिएको तथ्य खुल्यो। “झुट्टा कुरामा विश्वास गराएर सहिछाप गराए, पछि थाहा पाउँदा त मेरो जग्गानै हराइसकेको रहेछ,” चौधरीको आरोप छ।
उनीका अनुसार, कटाइएको जग्गा फिर्ता गरिदिने भन्दै अमिन रोशन यादवले ९ लाख रुपैयाँ माग गर्दै बार्गेनिङ समेत गरेका छन्। चौधरीले तत्काल आफ्नो जग्गा फिर्ता दिलाउन र यसमा संलग्न अमिनविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्।
घटना अझै विवादित बन्दै जानुको कारण, चौधरीका अनुसार सो क्षेत्रमा अन्य सबैको नक्सा मिलान गर्दा जग्गा ‘बढेको’ छ, तर एकलौटी रूपमा आफ्नो मात्र घटाइएको छ। यसले नापी कार्यालयमै गम्भीर नियतको प्रश्न खडा गरेको छ।
यता नापी कार्यालय मलंगवाले यस विषयमा कुनै प्रतिक्रिया नदिँदा घटनाको विश्वसनीयता झन् बलियो भएको स्थानीयवासीको टिप्पणी छ। उनीहरूका अनुसार, नापी कार्यालयभित्र चल्दै आएको घुस–बार्गेनिङको खेल फेरि उजागर भएको हो।
यस घटनाले सिंगो प्रशासनिक संरचना र नापी प्रक्रियामै ठूलो प्रश्न उठाइदिएको छ।
No comments:
Post a Comment