Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
मलंगवामा जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी सम्पन्न, ९९ प्रतिशत अंक ल्याएर लालबन्दी प्रथम
मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक २५
सर्लाही जिल्लाको जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी सोमबार मलंगवामा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य कार्यक्रमहरूको समग्र मूल्याङ्कनका उद्देश्यले दुई दिनसम्म चलेको सो गोष्ठीमा जिल्लाभरका स्वास्थ्य शाखा प्रमुख, फोकल पर्सन, साझेदार संस्था,सरोकारवाला तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
जिल्ला स्वास्थ्य कार्यालय मलंगवाको आयोजनामा तथा कार्यालय प्रमुख डा. नवल किशोर झाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा सबै २० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले वर्षभरमा सम्पादित कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रमको समापन सत्रमा स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गरी सूचकांकका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने पालिकाहरूलाई सम्मान गरिएको थियो। सोही क्रममा ९९.०० प्रतिशत अंक प्राप्त गर्दै लालबन्दी नगरपालिका पहिलो घोषित भएको हो। त्यस्तै ९६.७ प्रतिशत अंकसहित विष्णु गाउँपालिका दोस्रो, ९६.२ प्रतिशत अंकसहित हरिपुर नगरपालिका तेस्रो, ९५.४ प्रतिशत अंकसहित हरिवन नगरपालिका चौथो, र ९४.२ प्रतिशत अंकसहित बसबरिया गाउँपालिका पाँचौं स्थानमा परेका छन्।
उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाहरूका साथै जिल्ला स्थित साझेदार संस्थाहरूलाई पनि सम्मान गरिएको थियो। प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र स्वास्थ्य कार्यालय प्रमुख डा.झाले सबै उत्कृष्ट प्रतिनिधिहरूलाई कदरपत्र र गम्छा ओढाएर सम्मान गरेका थिए।
कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत लालबाबु रायले गरेका थिए।
No comments:
Post a Comment