Translate

Friday, October 17, 2025

प्राकृतिक विपत्ति बिर्सँदै सर्लाहीमा दीपावली र छठको तयारी तीव्र दशहारा बाढी–डुबानबीच मनाएका स्थानीय अहिले घर लिपपोत र सजावटमा व्यस्त

 


मनोज यादव—

सर्लाही, असोज ३१

   केही दिन अगाडि अविरल वर्षासँगै बाढी र डुबान खेप्दै दशहारा (दसैँ) पर्व सकाएका सर्लाहीवासी अहिले प्राकृतिक विपत्तिलाई बिर्सँदै दीपावली र छठसहितका मुख्य पर्वको तयारीमा जुटेका छन्। दीपावली नजिकिँदै जाँदा गाउँगाउँमा सडक, ढल र घरको सरसफाइसँगै रङरोगन र सजावटको चहलपहल देखिन्छ।
  “दशहारा त बाढी र डुबानबीचमै बित्यो, मन खोलेर रमाइलो गर्न पाइएन,” मलंगवा–५ भाँडसरका संजित यादवले भने, “अब दीपावली र छठ राम्ररी मनाउन पाइयोस् भन्ने हाम्रो इच्छा छ।” उनी अहिले घरको रङरोगनमा व्यस्त छन्।
   कार्तिक कृष्ण त्रयोदशीका दिन ‘धनतेरस’ मनाएर सुरु हुने मिथिलाको दीपावली पर्व कात्तिक शुक्ल द्वितीयाका दिन भाइटिकासँगै सम्पन्न हुने परम्परा छ। घर–आँगन झिलीमिली बनाउने र माटाका नयाँ भाँडा प्रयोग गर्ने प्रचलनले गर्दा यतिखेर कुम्हार र बाँसका वस्तु बुन्ने बिन समुदाय अत्यन्त व्यस्त छन्।
“पर्व त अब आइ नै सक्यो। माटाका भाँडा र बाँसका छिटीसहितका सामग्री किन्न बिनहरूसँग सम्पर्क गरेर टुङ्गो लगाइसकेकी छु,” भाँडसरकी गृहिणी गौरीदेवीले भनिन्, “अब घर लिपपोत र सजावटमा व्यस्त छु।”
  कौडेना–३ मोतिपुरका किसान महावीर रायले भने, “दीपावली नजिकिँदै छ, कामहरू भ्याइनभ्याइ छन्।” उनका अनुसार छठ पर्वमा पूजा सामग्रीका रूपमा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसार,भोगटे र अन्य कन्दमूलका लागि किसान अहिले नै जुटेका छन्।
  दीपावली र छठले स्थानीय उत्पादनलाई बजार दिने भएकाले गरिब किसानदेखि साना व्यापारीसम्म अहिले लाभको अपेक्षामा तयारीमा छन्। यसैबीच, बालबालिका र किशोरकिशोरी पनि घर सजाउने उत्साहमा देखिन्छन्।
 बस्तीबस्तीमा सडक र ढलको सरसफाइ स्वयंसेवकको रूपमा गर्दै स्थानीय बासिन्दाहरु चाडको स्वागतमा जुटेका छन्। घर–आँगनमा लिपपोत, ढोकामा तोरण र दीपमालिकाको तयारीसँगै सर्लाहीका बस्तीहरू यतिखेर उत्सवमय देखिन्छन्। दीपावली र छठको रौनकले यतिखेर सहरदेखि गाउँसम्म उज्यालो र उमङ्गले भरिँदै गएको छ । बाढी–डुबानको पीडा बिर्सँदै सर्लाहीका बासिन्दा अब खुशी र श्रद्धासँग चाड मनाउने तयारीमा जुटेका छन्।


No comments:

Post a Comment