Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
हरिवनमा स्थानिय तह स्तरीय स्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
प्रेमनाथ पौडेल---
सर्लाही,असोज ३०
सर्लाहीको हरिवन नगरपालिकामा स्थानीय तह स्तरीय स्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा तथा योजना तर्जुमा सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न भएको छ।
हरिवन नगरपालिका कार्यपालिका अन्तर्गत स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख हरिमाया घलानले गर्नुभएको थियो।
हरिवन–८ स्थित स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज फुंयाल, शिक्षा उपसचिव तथा सामाजिक विकास समितिका सचिव हरि दहाल, स्वास्थ्य कार्यालय सर्लाहीका तथ्याङ्क अधिकृत लालबाबु राय, नगरपालिकाका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, गैरसरकारी स्वास्थ्य संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आ.व. २०८१/८२ को असार मसान्तसम्म सम्पादित स्वास्थ्य सेवा कार्यक्रमहरूको विस्तृत समीक्षा गरिएको थियो। साथै, आगामी वर्षमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी, सहज र गुणस्तरीय बनाउनका लागि आवश्यक योजना र रणनीति समेत तयार पारिएको बताइएको छ।
हरिवन न.पा अन्तर्गत रहेका ११ वटा स्वास्थ्य संस्थामध्ये ५ वटा स्वास्थ्य संस्था A+, ५ वटा A, र १ वटा B+ श्रेणीमा उत्रिन सफल भएको नगर स्वास्थ्य संयोजक रामबाबु चौधरी ले बताउनुभयो । यस उपलब्धिका लागि सम्पूर्ण स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण सहभागीहरूलाई नगर स्वास्थ्य शाखा हरिवनले धन्यवाद दिएका थिए।
स्वास्थ्य सेवा सम्पादनमा विगत दुई वर्षदेखि लगातार हरिवन न.पा जिल्लामा मात्र नभइ प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल हुँदै आएको छ।
No comments:
Post a Comment