Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
छठ पर्व नजिकिँदै गर्दा मलंगवामा पोखरी सरसफाइ अभियान तिव्र
मधेशदूत समाचारदाता––
सर्लाही, असोज २८
आसन्न छठ पर्वलाई लक्षित गर्दै सर्लाहीको सदरमुकाम मलंगवा र आसपासका क्षेत्रमा पोखरी तथा नदी सरसफाइ अभियान तीव्र बनेको छ। धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको यस पर्वका लागि स्थानीय युवाहरूले पोखरी सफा गर्न थालेका हुन्।
हिन्दु सम्राट सेना सर्लाही, बजरंग दल सर्लाही तथा स्थानीय युवाहरूको सक्रिय सहभागितामा विगत केही दिनदेखि मलंगवा नगरपालिकाका विभिन्न वडामा रहेका पोखरीहरुमा सरसफाइको कार्य भइरहेको छ। हालसम्म जनसागर पोखरी, मुर्ली पोखरी, शिवसागर पोखरी र पब्लिक स्कुल पोखरी (झण्डा बजार) लगायतका पोखरीहरूमा सरसफाइ सम्पन्न भइसकेको छ।
त्यसैक्रममा आज (मंगलबार) स्थानीय युवाहरूले मलंगवा–५, भाँडसरमा रहेका पोखरीहरूमा पनि सफाइ अभियान सञ्चालन गरेका छन्। लामो समयदेखि केही पोखरीहरूमा झारपात र फोहोर जमेकाले दुर्गन्ध फैलिएको अवस्थामा युवाहरूले सघन रूपमा सरसफाइ गरेका हुन्।
छठ पर्वमा नदी र पोखरीको किनारमा टेन्ट गाडेर, रंगीचंगी बत्ती र सजावटका साथ दुलहीझैं सिंगार्ने परम्परा रहँदै आएको छ। वर्षभरि बेवास्ता भइरहेका यी पोखरीहरू छठ पर्व नजिकिँदा विशेष रूपमा सफा गरिँदै आएका छन्।
अभियानमा संलग्न एक सदस्यका अनुसार, “सार्वजनिक सम्पत्ति संरक्षण र सरसफाइका लागि स्थानीय स्तरमा चेतना फैलाउने उद्देश्यले हामीले यो अभियान थालेका हौं।”
युवाहरूले यो पहलले धार्मिक पर्वलाई अझ पवित्र, मर्यादित र वातावरणमैत्री ढंगले मनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनीहरूको यस अभियानमा सम्बन्धित वडाका वडाअध्यक्षले पनि हातेमालो गर्दै साथ दिइरहेका छन् ।
No comments:
Post a Comment