Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
मलंगवाको ऐतिहासिक माल पोखरीमा पहिलोपटक छठ पूजा, सरसफाइ र सौन्दर्यकरणमा जुटे युवा
मधेशदूत समाचारदाता---
मलंगवा, कात्तिक २
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित मालपोत कार्यालय र पुरानो जिल्ला प्रहरी कार्यालयको छेउमा रहेको नगरकै पुरानो र ऐतिहासिक "माल" पोखरीमा यस वर्ष पहिलोपटक छठ पूजाको आयोजना हुन लागेको छ।
नगरको मुटुमा अवस्थित "माल" पोखरी हाल संघीय सरकारको करिब ३ करोड रुपैयाँको लागतमा सौन्दर्यकरण भइरहेको छ। बिरगंजको घडिअर्वा पोखरीको मोडलमा तयार गरिएको यस पोखरीमा चारैतिर पक्की पर्खाल (बाउण्ड्री) बनाइएको छ। पोखरी परिसरमा सुन्दर बगैँचा, रंगीन पानी फाल्ने अत्याधुनिक फोहरा, बिजुली बत्तीको जडान लगायतका कामहरू गरिने छ। उक्त कार्यहरु सम्पन्न गरी छिट्टै हस्तान्तरणको तयारी भइरहेको वडा नं. ८ का वडाध्यक्ष मुकेश जयसवालले बताए।
छठ पर्व नजिकिँदै गर्दा पोखरीको सरसफाइ र व्यवस्थापनलाई लक्षित गरी शनिवार आठौं दिनको सरसफाइ अभियान सम्पन्न गरिएको छ। सो अवसरमा हिन्दु सम्राट सेना नेपाल, राष्ट्रिय बजरंग दल, नेपाल प्रहरी, वडा अध्यक्ष जयसवाल, स्थानीय समाजसेवी चन्दन सिंह राजपूत र स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यसअघि पनि सो टोलीले मलंगवा नगरपालिकाका विभिन्न वडामा रहेका छठीघाट (पोखरी) हरूमा सरसफाइ कार्य गरिसकेका छन् । पहिलोपटक माल पोखरीमा छठ पूजाको तयारीसँगै स्थानीयवासी उत्साहित बनेका छन्।
No comments:
Post a Comment