Translate

Saturday, September 27, 2025

प्रभु साहको सुझाव : "गुण्डा भेला नगरी ओलीले माफी मागेर सन्यास लिनुपर्छ"

 




"अब छानीछानी देश लुट्नेहरूमाथि प्रहार गर्नुपर्छ।”

मनोज यादव---
सर्लाही,असोज १२

    आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) का नेता केपी शर्मा ओलीलाई अब राजनीतिक जीवनबाट अवकाश लिनुपर्ने सुझाव दिएका छन्। उनले गुण्डा जम्मा गरेर शक्ति प्रदर्शन गर्नुभन्दा देश र जनतासँग माफी माग्दै सन्यास लिनु ओलीको लागि हितकर हुने टिप्पणी गरेका छन् ।
   सर्लाहीको लालबन्दीमा शनिवार आजपा मधेस प्रदेश कमिटीको बैठक तथा दसैँ, तिहार र छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने, "ओलीको हठ, घमण्ड र अहंकारले एमाले मात्र होइन, मुलुक नै संकटमा परेको छ।" उनले युवाहरूमाथि कठोर प्रहार गरेर जनभावना विपरीत कदम चालेको भन्दै चेतावनी पनि दिएका छन् ।
   साहले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि सचेत रहन आग्रह गर्दै जनआक्रोशलाई कलंकित बनाउन नखोज्न चेतावनी दिए। “त्यही संविधान, त्यही व्यवस्था राखेर जनविद्रोहको सम्मान गर्न सकिँदैन,” उनले भने, “देशलाई एनजिओ/आईएनजिओ शैलीमा चलाउन खोज्नु खतरनाक छ।”
   उनले हालैका घटनाक्रमप्रति प्रश्न उठाउँदै देउवा दम्पतीको नयाँ पासपोर्ट, नेताहरूको घरमा भेटिएको नगद र जलेका नोटबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे। साथै जेनजी आन्दोलनका सहिद परिवारलाई वर्तमान सरकारमा प्रतिनिधित्व दिनुपर्ने सुझाव दिए।
  साहले अहिलेको संविधानबाट निकास सम्भव नभएकाले अन्तरिम सरकार र अन्तरिम संविधानमार्फतै मुलुकले समाधान खोज्नुपर्ने धारणा राखे। बाह्य शक्तिको हस्तक्षेप बढ्दै गएको, देशमा अनिश्चितताको बादल मडारिएको र सेनाको गतिविधि बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले यो स्थितिलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
  भ्रष्टाचार गर्ने र सम्पत्ति विदेश लैजाने नेताहरु विरुद्ध कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, “अब छानीछानी देश लुट्नेहरूमाथि प्रहार गर्नुपर्छ।”
  कार्यक्रममा उनले कार्यकर्तालाई सन्देश दिँदै भने, "देश अहिले राज्यविहीनतामा पुगेको छ, जुनसुकै बेला जनसङ्घर्षमा उत्रिन हामी तयार रहनुपर्छ।"


No comments:

Post a Comment