सर्लाहीमा जसपाको अधिवेशनमा अवरोध : दोषीमाथि कारबाही हुने
मधेशदूत समाचारदाता---
सर्लाही,असोज ११
जनता समाजवादी पार्टी नेपाल (जसपा) सर्लाहीमा सम्पन्न प्रथम जिल्ला एकता अधिवेशनका क्रममा उत्पन्न विवादलाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिँदै दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ।
भाद्र १९ र २० गते अधिवेशन सम्पन्न भएलगत्तै, भाद्र २२ गते निर्वाचन कार्यतालिका अनुसार मलंगवास्थित जानकी पार्टी प्यालेसमा निर्वाचन प्रक्रिया चलिरहेको बेला अवरोध र कुटपिटको घटना भएको थियो। दिउँसो करिब २ बजे पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य संजय यादवसहितका व्यक्तिहरूले निर्वाचन अधिकृत, अध्यक्ष मण्डलका संयोजक तथा अन्य सदस्यमाथि गालीगलौज र कुटपिट गरेको आरोप लागेको छ। सो क्रममा नगदसमेत लुटिएको नवनिर्वाचित जिल्ला अध्यक्ष लगायतका नेताहरूले केन्द्रीय कार्यालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ।
यस घटनाबारे असोज ५ गते अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विशेष ध्यानाकर्षण गर्दै सत्य तथ्य छानबिन र संलग्न व्यक्तिमाथि संगठनात्मक कारबाही अघि बढाउने जिम्मेवारी केन्द्रीय संगठन विभागलाई दिएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा अधिवेशन पार्टी एकता र संगठन सुदृढीकरणका लागि ऐतिहासिक अवसर भए पनि त्यसैबेला अवरोध सिर्जना हुनु दुःखद र निन्दनीय रहेको उल्लेख छ। जसपाले अनुशासनहीनता, हिंसा र अव्यवहारलाई कुनै पनि हालतमा सहन नहुने स्पष्ट पारेको छ।
घटनापछि सर्लाहीमा पार्टी कार्यकर्ताबीच असन्तोष र चर्को छलफल सुरु भएको छ भने, नेतृत्वले दोषीमाथि छिटो र कडा कदम चाल्ने आश्वासन दिएको छ।
No comments:
Post a Comment